प्रहरीद्वारा नक्कली मह नष्ट

प्रहरीद्वारा नक्कली मह नष्ट


कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा गत मंगलवार बरामद गरिएको ‘नक्कली मह’ प्रहरीले नष्ट गरेको छ । चिनीबाट निर्मित १५ क्विन्टल नक्कली मह, चिनी–मह बनाउन प्रयोग गरिने र संकलन गर्ने प्लास्टिकका ड्रम समेत प्रहरीले जफत गरेको थियो । चिनी पकाएर चास्नी बनाई केमिकल, फिटकिरी, युरिया लगायतको मिसावटबाट उक्त मह निर्माण गरिएको प्रहरीको दाबी छ । वडा प्रहरी कार्यालय चन्द्रौटाले पत्रकार सम्मेलन गरी प्रहरी परिसरमा खाल्डो खनेर नक्कली मह नष्ट गरेको हो ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा, शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु, ईलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्याल, सञ्चारकर्मी तथा स्थानीय लगायतको उपस्थितिमा नक्कली मह नष्ट गरिएको थियो ।

शिवराज नगरपालिकालाई खुला दिसामुक्त बनाउने अभियानसँगै त्यस बस्तीमा पुगेको अभियान टोलीले गत मंगलबार बिहान १५ क्विन्टलनक्कली चिनीमह बरामद गरेको थियो । चिनी पकाएर चास्नी बनाई केमिकल, फिटकिरी, युरिया लगायतको मिसावटबाट निर्माण गरिएको महले मानव स्वास्थ्यमा अयन्त नकारात्मक असर गर्ने बताइन्छ । नक्कली मह बनाउनेले पहाडी क्षेत्रमा गई मौरीको मह भन्दै नक्कली महलाई उनीहरुले २ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्ममा विक्री गर्ने गरेको प्रहरी बताउँछ ।