विर्तामोडमा अनिश्चितकालीन कफ्र्यु

विर्तामोडमा अनिश्चितकालीन कफ्र्यु


११ वर्षीय बालक लक्ष्मण शिवाकोटीका हत्यारालाई सार्वजनिक गरी कारवाही गर्न माग गर्दै स्थानीयले गरेको आन्दोलनका क्रममा दर्जनभन्दा बढी घाइते भएका छन् भने विर्तामोडमा प्रशासनले कफ्र्यु जारी गरेको छ ।

आन्दोलनमा प्रहरी र आन्दोलनकारी दुवैतर्फका मानिसहरु घाइते भएको बताइएको छ । विर्तामोडका मेयर ध्रुबकुमार शिवाकोटीको घर र नीजि गाडी बा.१० च ३०६१ नम्बरको निजी गाडी तोडफोड गरेका छन् ।

बिर्तामोड नगरपालिकाको मे १ झ. १२१ नम्बरको गाडी पनि तोडफोड भएको छ । मेयरका छोराको मे ७ प ३००० नम्बरको बुलेट बाइक समेत आन्दोलनकारीले जलाइदिएका छन् ।

प्रशासनले अर्को आदेश नभएसम्मका लागि मुक्तिचोकबाट उत्तरमा महानन्दचोक, दक्षिणमा विर्ताबजार, पूर्वमा बसपार्क छिर्नेबाट र पश्चिममा चारपाने चोकसम्म कफ्यू लगाईको प्रमुख जिल्ला अधिकारी ऋषिराज तिवारीले जानकारी दिनुभयो ।

अर्जुनधाराका ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्युको सत्यतथ्य छानविन मागसहित सुरु भएको आन्दोलनले उग्र रुप लिएको हो ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड भएको छ । कार्यालय परिसरमा राखिएको पूर्वसांसद् प्रेम गिरीको मोटरसाइकल आन्दोलनकारीले जलाएका छन् । उनीहरूले मुक्तिचोक आसपास जडान गरिएका सीसी क्यामेरा फुटाएका छन् ।

घटनाको समाचार संकलनका लागि गएका सञ्चारकर्मीहरु प्रेम आचार्य, उमाकान्त खनाल, राजु पौडेलमाथि पनि दुव्र्यवहार गरिएको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले जानकारी दिनुभयो ।

आन्दोलनकारीहरु अहिले पनि चोकचोकमा भेला भएर बसेपछि जनपदले स्थिति नियन्त्रणमा लिनका लागि झापाका प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रालयमा सेना परिचालनको अनुमति मागेको बुझिएको छ । तर सेना परिचालनबारे प्रमुख जिल्ला ऋषिराज तिवारीको ९८५२६१७७७७ नम्बरको मोबाइलमा सम्पर्क गर्दा फोन रिसिभ भएन ।