बिर्तामोड घटनामा क्षतिपूर्ति दिन माग

बिर्तामोड घटनामा क्षतिपूर्ति दिन माग


झापा, अर्जुनधारा–११ निवासी लक्ष्मण शिवाकोटीको मृत्युको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोलीसम्म हान्ने र सर्वसाधारणलाई घाइते बनाएकामा नेकपा (एमाले) ले दुुःख व्यक्त गरेको छ ।

एमालेले बालक शिवाकोटीको मृत्युका बारेमा छानविन गरी दोषीलाई कानूनका दायरामा ल्याउन शिवाकोटी परिवारलाई न्याय दिलाउन माग गरेको छ ।

बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीको घरमा आक्रमण गर्नेेदेखि गाडी तोडफोड गर्ने, मोटरसाइकलमा आगजनी गर्ने, पूर्वसांसद प्रेमबहादुर गिरीको मोटरसाइकल तोडफोड गर्ने, बिर्तामोड नगरपालिका बोर्ड सदस्य सुरेन राजवंशीका घरमा तोडफोड गर्ने, पार्टीका कार्यकर्ता नारायण चिमरियालगायतलाई आक्रमण गर्ने र मनमोहन अस्पतालमा तोडफोड गर्ने जस्ता कार्यको निन्दा गर्दै पार्टीले ‘नियोजित रुपमा गरिएको आक्रमण र तोडफोडसँगै प्रदर्शनकारीमाथि गोली चलाउने अवस्था आउनु’ सरकारविहीनताको पराकाष्टा भएको आरोप लगाइएको छ ।

राससका अनुसार एमालेका नेता कार्यकर्ता र जनप्रतिनिधिमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै घटनामा परी मृत्युवरण गरेकाहरुलाई क्षतिपूर्तिसहित प्रदर्शनका क्रममा भएका घाइतेलाई उपचारको माग र तोडफोड भएको सम्पत्तिको उचित क्षतिपूर्तिसहित समग्र घटनाको छानबिन गर्न सरकारसमक्ष एमाले झापाले विज्ञप्तिमार्फत माग गरेको छ ।