त्रिशुलीमा बस खस्दा ४ जनाले ज्यान गुमाए, दर्जन बढि घाइते (थप अपडेटसहित)

त्रिशुलीमा बस खस्दा ४ जनाले ज्यान गुमाए, दर्जन बढि घाइते (थप अपडेटसहित)


करिब ५० जना यात्रु लिएर राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको रात्री बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खस्दा ४ जनाले ज्यान गुमाएका छन् भने एकदर्जन बढि घाइते भएका छन् ।

बस धादिङको गजुरी–५ बांगेमोडबाट त्रिशूली नदीमा बस खसेको हो । प्रहरीका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन् ।

बस दुर्घटनास्थलबाट दुई महिला र दुई पुरुषको शव भेटिए पनि उनीहरुको सनाखत हुन नसकेको गजुरी प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते १५ जनामध्ये गम्भीर घाइते दुई जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको एक स्थानियले बताए घटना र बिचारलाई बताए । गजुरी प्रहरीले अन्य १३ जना घाइतेको स्थानीय गजुरी सामुदायीक अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

ति स्थानियका अनुसार बस नदीमा पुरै डुबेकोले मृत्यु हुनेको संख्या धेरै हुन सक्नेछ । घटनास्थलमा उद्दारका लागि खटिएका एक सुरक्षाकर्मीको अनुमानअनुसार मृतकको संख्या दर्जनको हाराहारीमा हुन सक्छ । नदीमा डुबेको बसलाई क्रेनले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।