
घुमघामका लागि भक्तपुर पुग्ने पर्यटकसँग सवारी साधनका चालक तथा सहचालकले अंग्रेजी बोल्नुपर्ने अवधारणा अघिसारिएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले चालक तथा सहचालकले अंग्रेजी सिक्नुपर्ने बताएका हुन् ।
भक्तपुर मिनीबस सेवा समितिका नवनिर्वाचित पदाधिकारीकोे पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता सुवालले नपढेका र घरमा आमाबुबालाई समेत नटेर्ने युवा चालक सहचालक हुन्छन् भन्ने समाजको बुझाइ रहेको उल्लेख गर्दै सो भ्रम चिर्नको लागि पनि चालक सहचालकले यात्रुसँग राम्रो व्यवहार गर्नुपर्ने सुझाव दिए ।
चालक सहचालकले अंग्रेजी सिकेर व्यवहारमा प्रयोगमा ल्याउन सके पर्यटकलाई सेवा पुग्ने मात्र नभई चालक सहचालक स्वयम्का लागि पनि निकै लाभदायी हुने बताए । आफूले अवधारणाका रुपमा अघिसारेको यो प्रस्तावले कुनैबेला मूर्त रुप लिनसक्ने विश्वास पनि उनले व्यक्त गरे ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्यले समितिले भक्तपुर जिल्लाभर आफ्नो सेवा विस्तार गर्दै समाजको मन जित्नुपर्ने बताए भने नवनिर्वाचित अध्यक्ष दिनेश प्रधानले समितिअन्तर्गतका गाडी र त्यसका चालक तथा सहचालक सम्बन्धमा आएको गुनासोलाई कम गर्दै सेवा सुविधा यात्रुअनुकूल बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, मिनीबस सेवा समितिले आफ्ना गाडीमार्फत भक्तपुरभित्र स्थानीय भाडा १० मात्रै लिने निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । समितिको यही कात्तिक १ गते सम्पन्न १२औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले उक्त निर्णयलाई लागू गर्ने बताएको हो ।
प्रतिक्रिया