हाम्रो हङकङ बसाई अब एकदिन मात्र बाँकी छ । भोलि हामी शेन्जेन, हङकङको सिमानापारि, चीनको द्रूतगतिमा फस्टाएको विशाल शहरमा घुम्न जाने योजना छ । म पर्वतमञ्चले दिएको सम्मान भोजबाट घर फर्कदा साढेदश बजिसकेको थियो । श्रीमती र शासु मलाई कुरिरहेका थिए । परिवारका अरु सबैजना निद्रादेवीको काखमा मस्त थिए । केहीक्षण कुरा गरेर विस्तरामा गएँ । प्रत्येक दिनको बिहानले आशा बोकेर आएको हुन्छ, त्यस्तै प्रत्येक साँझपछिको रातमा एउटा आशाको सपनाभित्र हराउँछौ हामी । यसैले जीवन आशा र भरोसाको सिलसिला हो जस्तो लाग्छ मलाई । हामी आफ्नै संसारी दायराभित्र प्रत्येक पल केही प्राप्त गर्नकालागि दौडिरहेका हुन्छौ । यहि क्रमिक दौडमा चाहना र ईच्छाहरु प्रबल हुँदै जान्छ अनि प्रत्येक बिहानले सधै जिम्मेवारी बोकेर आए झै लाग्छ । यो सिलसिला जीवन रहुन्जेल जारी रहन्छ निरन्तर । अब हामी फेरि बेलायत फर्केर जानु छ । आज हामी सबै समान मिलाएर भोलि बेलायत प्रस्थानको तयारी पनि गर्नु छ । र, दिनको एकबजेतिर शेन्जेन जाने योजना ग¥यौ । किनभने साढुभाइ डम्मरको आधादिनको कामले हामीलाई एकबजेसम्म रोक्यो । निर्माण क्षेत्रमा काम गर्नेहरुका लागि निर्माणको चाँजो पाँजोमा मिल्नु पर्ने हुनाले उनी १२ बजेतिर मात्र घर आईपुग्ने रहेछन् । १२ बजेसम्म सबै समान मिलाएर तैयार गर्यौ लण्डन प्रस्थानका लागि । डम्मर भाइ आईपुग्न साथ हामी घरबाट शेन्जेनका लागि हिड्यौ । हामी अलि अबेर २ बजेतिर शेन्जेनका लागि जोर्डन स्थित एमटीआर स्टेशनतर्फ गयौ । जोर्डनबाट रेलले शेन्जेन एकघण्टाभित्र सजिलै पु¥याउँछ । शेन्जेनमा पुगेर हामी पहिले “विन्डो अफ द वाल्र्ड” अर्थात “विश्वको आँखीझ्याल” हेर्ने त्यसपछि शेन्जेनको अध्यागमन विभाग छेउको बिल्डिङमा बडी मसाज केन्द्रमा शरीर मालिश, साउना, स्टिम लिएर रात त्यहाँ नै बिताउने योजना बनाएका थियौ । हामी सपरिवार, आठजनाको समुह गएका थियौ । तीन घण्टाभन्दा बढी बुकिङ गरेमा त्यहाँ नै खाना र रातभरिका लागि बस्ने सुविधा पाउँदो रहेछ ।
पहिलेको केसीआर अर्थात काउलुन क्यान्टोन रेलवे कोरपोरेशन अहिले एमटिआरसँग गाभिएको छ । उन्नाईसौ शताब्दिको पुर्वार्धमा निर्माण गरिएको काउलुन क्यान्टोन रेलवे विशेष गरेर हालको दक्षिण चीनको गुवाङजु प्रान्त र हङकङलाई जोड्नकालागि एकसयवर्ष अघि नै निर्माण गरिएको थियो, तर अहिले यो रेल कम्पनीलाई सन् २००७ सालदेखि हङकङको अर्को रेल कम्पनी एमटिआरसँग (मास ट्रन्जिट रेलवे कोरपोरेशन) गाभेर सञ्चालन गर्दै आएको छ । वर्षेनी आएको राजश्व केसिआरसीलाई बुझाउनेगरि ५० वर्षकालागि अनुबन्ध गरेको छ । एकैदिनमा लाखौ यात्रुहरु ओसारपसार गर्ने रेलसेवा एकदमै सुगमताको साथ सञ्चालन भईरहेको छ । हङकङलाई चीन समक्ष सुपुर्दगरेपछि चिनीयाँमूलका नागरिकहरु शेन्जेनबाट नै हङकङमा काममा धाउँछन र त्यस्तै शेन्जेन क्षेत्रतिर कारखानाहरुमा कामगर्ने म्यानेजर देखि, कामदार तथा कम्पनीका मालिकहरु हङकङबाट पनि जाने आउने गर्छन । यातायातको सुविधालेगर्दा यहाँको विकास एकदमै तिव्र गतिमा अघि बढीरहेको छ । हाम्रो पासपोर्टमा पहिल्ये नै भिसा हानीसकेकोले हामीलाई अध्यागमनमा धेरै कुर्नु परेन । हामी एकैछिनपछि अध्यागमन पछाडिको शेन्जेनको बसपार्कमा थियौ । हामी अब विन्डो अफ द वाल्र्ड हेर्नका लागि बस अथवा मेट्रो जुनसुकै समातेर जानुपथ्र्यो । यहाँबाट विन्डो अफ द वार्ड पुग्न लगभग ३०, ४० मिनट जति लाग्छ । हामी एउटा बसमा चढेर आठैजना शेन्जेनको विन्डो अफ द वाल्र्ड हेर्न गयौ । १५ वर्षअघि विन्डो अफ द वाल्र्ड हेर्न आउँदा शेन्जेनको स्वरुप अहिलेको जस्तो थिएन । यतिबेला मैले मूलबाटोका दाहिने देब्रे विशाल भवनहरु र चारैतिर व्यवस्थित बाटाहरु देखे । यो शहरको जनघनत्व दिन प्रतिदिन बढीरहेको छ । अहिले यहाँ हङकङको भन्दा बढी जनसंख्या छन् । यहाँ अहिले एक करोडभन्दा बढी मानिसहरु बसोबास गर्छन । सन् १९७०को उत्तरार्धमा जब चीनले उदारीकरणतिर पाईला टेकिन, त्यसबेलादेखि सबैभन्दा छिटो विकाश भएको क्षेत्र नै शेन्जेन क्षेत्र हो । यो चीनको विशेष आर्थिक क्षेत्रभित्र पर्दछ । यिशुपुर्वदेखि नै मानव बस्ती रहेको यस शहर ईतिहासका धेरै उथलपुथलहरुका साक्षी हुन । ईतिहासकालमा पन्द्रहौ र सोह्रौ शताब्दिताका चीनदेखि बाहिरका व्यापारकालागि पर्लनदिको तट र समुन्द्र भएकोले प्रमुख बन्दरगाहको रुपमा विकशित भएको थियो ।
हङकङ र शेन्जेनको सिमानामा पर्ने रेलस्टेशन वा अध्यागमन विभाग रहेको ठाउँलाई लोउ (लोवु) भन्छन् । ब्रिटिशले हङकङलाई शासन गर्दा ब्रिटिश गुर्खाका जवानहरुलाई लोउ, लोकमाचोक र सताउकोक क्षेत्रका सीमा सुरक्षाको लागि खटाइन्थ्यो । तर, अहिले यहाँका नाकाहरुमा अध्यागमन विभागले मानिसहरुका आवतजावतलाई नियन्त्रण गर्छन् । हामी साढेचार बजेतिरमात्र विन्डो अफ द वल्र्डको परिसरभित्र पुग्यौ । हामीले आठबजे रातीसम्म यहाँ घुम्ने, हेर्ने त्यसपछि फर्कने योजना बनायौ । उसरी विन्डो अफ द वाल्र्ड हेर्नकालागि झण्डै पुरा दिन लाग्छ । यो चीनको एउटा नमुना (पार्कं)उद्यान हो । शेन्जेन शहरको पश्चिमी भागमा अवस्थित यस पार्कमा संसार भरिका एकसय तीसवटा जति विख्यात पर्यटकीय आकर्षणका विषयवस्तु अर्थात निर्माणहरु नमूना (रेप्लिका) बनाएर राखेका छन् । ४८ हेक्टर जमिनमा पैलिएको पार्कमा १०८ मिटर अग्लो ऐफिल टावरको रेप्लिकाले आकाशको अग्लाई नाप्दै सुन्दर ऐफिल टावरको अनुभूति दिन्छ र यहाँको एउटा आकार्षण बन्न पुगेको छ । त्यस्तै यहाँ ताजमहल, पिरामिडहरु, बेलायतको वेस्टमिनिस्टर, नेपालको स्वयम्भुनाथको नमुना लगायत विश्वका प्राय सबै विख्यात ठाउँहरुमा निर्माण भएका रेप्लिकाहरु बनाएर राखेको छ । विश्वभरिका आकर्षक पर्यटकीय ख्यातीका निर्माणहरुलाई यस पार्कमा निर्माण गरेर राखिएको छ । यस पार्कभित्र पुगेर विस्तृत रुपमा अध्ययन गर्ने हो भने संसारभरि निर्माण गरिएका सृजनाहरुको ऐतिहासिक र भौगोलिक तथ्यका कुराहरु सजिलै बुझ्न सकिन्छ । त्यसैले चिनीयाँ जनताहरु र पर्यटकहरुलाई संसारबारे ज्ञान दिनकालागि निर्माण गरिएको पार्क भएको हुनाले यसलाई विश्वको आँखिझ्याल नामाकरण गरिएको हो । एकपल्ट यस पार्कको भ्रमण गरिसकेपछि तपाईलाई विश्व घुमेर आएको भैm प्रत्तित हुन्छ । यहाँ मरुभूमीको छनक दिनेगरि पिरामिडहरु बनाएका छन् । त्यस्तै रहस्यमयी अफ्रिकी झोपडीहरुका बस्ती, कम्बोडियाको आङकोरभाट, प्राचीन एथेन्स, रोमन कोलोजियम, अस्ट्रियाई छनक दिने समुन्द्र र सिडनी ओपेरा हाउस, युरोपेली संस्कृतिको झलकदिने घरहरु र डचहरुका मध्यकालिन विण्डमिलहरु, अमेरिकाको न्युयोर्क स्थित मनहाट्टान र नियाग्रा छाँङ्गो बडा चकित पार्ने गरि निर्माण गरेर राखेका छन् । सालमा सरकारी विदाको अवसर पारेर यहाँ कैयौ कार्यक्रमहरुको आयोजना गरिन्छ । मुख्यतया जापानको चेरी फेस्टिभल र भारतीय सांस्कृतिक सप्ताह बडो धुमधामसित आयोजना गरिन्छ । यहाँ पर्यटकहरुलाई आकर्षन गर्नकालागि चिनीयाँ राष्ट्रिय दिवसको अवसरमा बियर फेस्टिभलको आयोजना पनि गरिन्छ । त्यस्तै युवाहरुका लागि पोप म्युजिक र नृत्यहरुका कार्यक्रमको आयोजनाहरु सालभरि भईरहन्छ । यसपार्कमा एउटा आकाशे सानो रेललाईन बिछ्याइएको छ । सानो डिब्बाभएको रोलरकोस्टर जस्तै, तर, विस्तारै चल्ने रेलमा चढेर माथिबाट यस पार्कलाई राम्रोसँग परिक्रमा गरेर हेर्न सकिन्छ ।
त्यहाँ पुगेर एकजनाको एकसयचालीस युआन तिरेर हामी मुख्या द्वारबाट पार्क हेर्न पस्यौ । पार्कको द्वार अघिल्तिर रोमन कोलोजियम, माईकल एन्जलो कृत डेभिडको मुर्ति र अन्य मुर्तिहरुका रेप्लिका राखिएको छ । त्यसपछि विस्तारै हामी नेपालको स्वयम्भुनाथको नमुना भएको ठाउँमा पुगेर फोटाहरु खिँच्यौ । छेवैमा आङकोर भाट त्यसपछि एसियाली मुलुकहरुका केही नामुद पर्यटकीय महत्वका रेप्लिकाहरु हेरेर सउदीको मक्का मस्जिद तर्फ लाग्यौ । त्यसपछि फोटाहरु खिच्दै, हेर्दै देब्रेपट्टी खडा गरेको स्टोन हेन्ज, बेलायतको टावरब्रिज, वेस्टमिनिस्टर हुँदै, अर्क डि भिक्टरी र फ्रान्सेली गौरव ऐफिल टावर भएको ठाउँमा आईपुग्यौ । आज यसरि पैदल घुमेर विश्वको आँखिझ्याल हेर्न नभ्याउने हुनाले हामीले सानो रेलको टिकट काटेर आकाशे रेल लाईन हुँदै यस पार्कलाई हेर्दै परिक्रमा गर्ने विचार गर्यौ । किनभने हामीले यो छोटो समयभित्र यस पार्कलाई हेर्न भ्याउने थिएन । एकजनाको २० युआनको दरले फेरि आठजनाको टिकट काटेर हामी सानो रेल चढेर पार्कलाई परिक्रमा गर्यौ । सानो रेल विस्तारै गति लिंदै कतै नरोकी लिचीका बगैचाहरु माथिहुँदे गुड्न थाल्यो । म यसपाली लगाएत यस पार्कमा आएको तीनपटक भईसकेको थियो त्यसकारण मलाई यहाँका निर्माणहरु कहाँ के छन् भन्ने राम्रोसँग थाह थियो । यहाँ पहिलोचोटी आउनेहरुमा जुँवाई, डाक्टर सँगम र शासु थिईन । त्यसकारण उहाँहरुलाई छेवैमा बसाएर माथिबाट नै रेप्लिकाहरुतर्फ औल्याउँदै मैले वणैन गर्दै गएँ । रात भएको कारणलेगर्दा कतिपए ठाउँहरुमा उज्यालो पर्याप्त थिएन, तरपनि सकुन्जेल हेर्दै, भन्दै गएँ, तर, उहाँहरुलाई दिनको उज्यालोमा हेरेजस्तो पक्कापनि भएन होला । यसरि परिक्र्रमा गरिसक्दा झण्डै आठ बज्न आँटीसकेको थियो । हामी सानोरेलबाट ओर्लेर मुख्य द्वारको अघिल्तिर चल्दैगरेको पोप सँगीत र नृत्यको कार्यक्रम भएको मञ्चतर्फ गयौ । त्यहाँ चिनीयाँ कलाकारहरुले गीत, सँगीत र नृत्य प्रस्तुत गरिरहेका देख्यौ । हेर्ने मन हुँदाहुँदै हामी केहीबेर त्यहाँको मनोरञ्जन हेरेर पार्कबाट बाहिर निस्क्यौ । हामी सबैकुरा एकैचोटी भ्याउने हिसाबले समय छोट्याउँदै थियौ । हामी फर्कदा मेट्रोबाट लोउ फक्र्यौ । लोउ पुगेर चिनीयाँ रेस्टुरेन्टमा डिनर लिने त्यसपछि बडी मसाज केन्द्रमा जाने योजना बनायौ । विश्वको आँखिझ्यालको पार्कबाट मेट्रोले ठ्याक्कै २७ मिनटमा हामीलाई लोउ ल्याई पुर्यायो । हामी त्यसपछि खानाको लागि एउटा रेस्टुरेन्टमा जाने विचारले एउटा बिल्डिङको पाँचतल्लामा गयौ । त्यहाँ मानिसहरु टन्न भरेका थिए, कुनै टेबल खाली थिएन । त्यहाँको एकजना वेटरले एकछिन कुर्नलाई भनीन्, तर, हामी आठजनाको समुह उभेर पर्खदा अलि पट्यार लागेकोले
शान्ती मैया, सालीले अर्को रेस्टुरेन्टतिर जाउँ भनेर पाईला चाली हालीन् । शान्तीलाई त्यस ठाउँको बारेमा हामीलाईभन्दा बडी ज्ञान छ । ऊ बेला बेलामा बडी मसाजको लागि साथीहरुसँग यहाँ आउने गर्छिन । हामी शान्तीको पछिपछि लाग्यौ । बिल्डिङका त्यसै तल्लाको अर्को पट्टीको रेस्टुरेन्टमा गएर खानाको अर्डर शान्तीले दिन थालीन् । शासुलाई मधुमेह भएकोले गर्दा उनका लागि अर्कै खाले खाना मगाईन्, तर, हाम्रोलागि चिनीयाँ स्टायलको खानाहरु मगाईन् । सबै भोकाएका थिए त्यसकारण टेबलमा आउने प्लेट भरिको खाना, अर्को खानाको प्लेट आउँदा नआउँदै चोपस्टिकले टिपेर खाईसकेका हुन्थ्यौ । त्यसकारण शान्तीले चिनीयाँ कुरामा अलि छिटो छिटो ल्याउ खाना भन्दै वेटरहरुलाई आग्रह गरीन् । चिनीयाँहरुले रेस्टुरेन्टमा अर्डर दिंदा प्रत्येक आईटमका खानाहरु एकैचोटी ल्याउँदैनन । विस्तारै खाँदै जान्छन र अर्को आईटम, वाफ उठ्ने गरि तातो खाना ल्याएर पस्कन्छन् । टेबलमा बसेर खाने चिनीयाँहरुका आफ्नै पराम्परा छ । मानिसहरुको चोपस्टिक चलाउँने तरिका हेरेर उनिहरुले घरान र संस्कारको पहिचान गर्दाछन् । शिलस्वाभावलाई टेबलमा बसेर खाँदा राम्रोसँग विचार गर्ने गर्छन् । तर, नेपालीहरुका संस्कारमा टेबलमा बसेर खाने परम्परा धेरै भएको छैन । यद्यपि हाम्रोपनि आफ्नै संस्कार र परम्परा छ । धन्यवाद … फेरि अर्को एपिसोडमा भेटौला …
प्रतिक्रिया