लण्डन/ ६ मे २०१२, आइतवार, बुद्ध पूर्णीमाको दिनमा बिज्ली प्याभिलियन नेशनल शुटिङ सेन्टर, सरीमा द बुद्धिष्ट कम्युनिटी सेन्टर, यूकेले २५५६औं बुद्ध जयन्तीको कार्यक्रम अत्यन्त भव्यतासाथ सम्पन्न गरेका छ । झण्डै दुईहजार जतिको बिशाल महायानी बौद्ध मार्गीहरुमाझ स्थानीय अतिथिलगायत महायनी बौद्ध, कग्युपा सम्प्रदायका तेश्रो अवतारी धर्म गुरु, डुप्से रिम्पोछे, धर्मगुरु बागिन्द्र, खिम्पो (धर्मसम्बन्धी पीएचडी) र अन्य धर्मगुरुहरुका सामीप्यमा बडो श्रद्धा र भक्तिभावको माहोलबीच दिव्य धार्मिक अनुभूतिको सिर्जना भएको थियो । बुद्धिष्ट कम्युनिटी सेन्टर, बेलायतको यसपालीको यो ऐतिहासिक बुद्ध जयन्ती मेजर (रिटायर्ड) खुशीमान गुरुङका संयोजनमा सम्पन्न भएको थियो साथै कार्यक्रमको उद्घोषक तथा सञ्चालन पनि उनले सटिक ढंगले प्रस्तुत गरेका थिए । कार्यक्रमको शुरुवात धर्मगुरुहरुलाई स्वागत गरेपश्चात विभिन्न अतिथिहरु, क्रमशः तिब्बतीहरुका धार्मिक प्रमुख दलाईलामाका युरोप क्षेत्रका प्रतिनिधि थुक्पीन रिम्पोछे, रशमूर र सरीका मेयर द्वय, एनआरएन यूकेका अध्यक्ष कुल आचार्य, तमुधिं यूकेका अध्यक्ष मुछेत्र गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेको प्रबर्धनका लागि सहयोग गर्दै आएका रिकी च्याम्बर हाइट, ओबीई, सरी काउन्टीका हाइ शेरिफ, कौंसिलर गम गुरुङ, दक्षिणपूर्व, लण्डन तमू धिंका अध्यक्ष क्याप्टैन (रिटायर्ड) नारायण गुरुङ र अन्य विभिन्न संघसंस्थाबाट आएका अतिथिहरुलाई खादा ओढाएर सम्मान गरेको थियो ।
समितिका अध्यक्ष काजी शेर्पाका स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमलाई दलाई लामाका युरोप प्रतिनिधि थुक्पीनको मन्तव्यपछि स्थानीय अतिथिहरुबाट शुभकामना मन्तव्य प्रकट गरेका थिए । अङ्ग्रेजीमा प्रकट गरेका मन्तव्यहरुलाई दर्शकदीर्घामा मेजर (रिटायर्ड) खुशीमान गुरुङले नेपालीमा अनुवाद गरेर संक्षिप्तमा मन्तव्यका सारहरु जानकारी गराएका थिए । त्यसपछि विद्वान धर्मगुरु अवतारी लामा डुप्से रिम्पोछेले आलिशान भव्य मण्डपमा आसीन हुँदै बुद्ध प्रार्थना र मन्त्रोच्चरपछि आफ्नो प्रवचन अङ्ग्रेजी भाषामा बुद्धको जीवनी, दर्शन र वर्तमान विश्वमा बौर्द्धधर्मको औचित्यबारे प्रकाश पारेका थिए । झण्डै २ हजारको हाराहारीमा रहेका नेपाली श्रद्धालुहरुलाई विद्वान धर्मगुरु, खिम्पो, बागिन्द्रले बडो सरल र सरस नेपाली भाषामा अवतारी लामा डुप्से रिम्पोछेका भनाइहरुलाई उद्धृत गर्दै उनले उल्था गरेका थिए । उनले थप आफ्नो तर्फबाट पनि बौर्द्धधर्मबारे प्रकाश पारेका थिए । यो बृहत भेला र भगवान बुद्धको जयन्तीलाई सफल पार्नका लागि बेलायतका कुनाकुनाबाट श्रद्धालुहरु आएका थिए । यसै क्रममा बुद्धिष्ट कम्युनिटी सेन्टरले यस कम्युनिटीका ट्रस्टीहरुलाई अवतारी लामाका बाहुलीबाट प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गरेका थिए । ट्रस्टी बन्न चाहनेहरुले कम्तीमा एक हजार पाउण्ड रकम दिनुपर्ने समितिको निर्णय रहेको छ । उठेको रकमबाट समितिको नाममा छिटो नै एउटा गुम्बा घर खरिद भइरहेको सुचना संयोजक मेजर (रिटायर्ड) खुशिमान गुरुङले दिएका छन् ।
हालसम्म २६० जनाभन्दा बढीको संख्यामा ट्रस्टी बनिसकेका छन् र पाँचसयभन्दा बढी यस संस्थाका आजीवन सदस्यहरु रहेका छन् । हालसम्म तीनलाख पाउण्डभन्दा बढी रकम सङ्कलन भइसकेको छ । यस कार्यक्रमलाई समितिका उपाध्यक्ष लेफ्टिनेन्ट (रिटायर्ड) नारायण प्रसाद गुरुङले कार्यक्रममा सामेल सबै श्रद्धालुहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । हजारौ व्यक्तिहरुका लागि कार्यक्रममा विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट चिया चमेना, पानी, सफ्ट डिङ्क तथा खानाको प्रायोजन गरेका थिए । यस कार्यक्रमलाई सफल पार्नका लागि विशेषगरी अहोरात्रि खटिएका अन्य व्यक्तित्वहरुमा मेजर (रिटायर्ड) डमर घले, क्याप्टैन तीर्थ गुरुङ, सचिब आसबहादुर गुरुङ, कोषाध्यक्ष नरेश गुरुङ, आमा समाजकी अध्यक्ष ज्ञानु गुरुङ, युथ प्रसिडेन्ट ग्याल्मु शेर्पा तथा कार्यकारी समितिका सदस्यहरु र सल्लाहाकारहरु थिए । कार्यक्रमको मध्य अस्ति पोखरामा हिमताल प्रस्फुटनको कारण भिषण बाढीबाट दुःखदायी घटना घटेर धनजनको क्षति भएकाहरुलाई स्मरण गरिएको थियो । यस घटनाबाट मृत्यु भएका आत्माहरुका चीर शान्ति तथा विश्व शान्तिका लागि धर्मगुरुको अगुवाइमा सामुहिक प्रार्थना गरेका थिए । समारोह भवन सामुहिक प्रार्थनामा दिव्य गुञ्जायमान भएको थियो । यस कार्यक्रमको अवसरमा बौद्ध गुम्बाका लागि चाहिने थाङ्का र मूर्तिहरु प्रायोजन गरेका दानबीरहरुलाई पनि सम्मान गरेको थियो । क्रमशः नन्दराम गुरुङ, अन्जान गुरुङ, कृष्णा घले, सुधा घले, ले.रि. नारायण गुरुङ (दम्पति), नरेश गुरुङ (दम्पति), रु. पन्द्रहलाख बराबरको बुद्धमर्ति प्रदान गर्ने अध्यक्ष काजी शेर्पा तथा उनका दाज्युलाई धर्मगुरु अवतारी लामाका बाहुलीबाट खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा वोङ् (धर्मगुरुबाट आशीर्वाद गर्हण) थाप्ने क्रममा हजारौ श्रद्धालुहरुले गुरुहरुबाट आशीर्वाद ग्रहण गरेका थिए । यसै अवसरमा बुद्धिष्ट कम्युनिटी सेन्टर, बेलायतद्वारा आयोजना गरिएको तिब्बती धर्मगुरु तथा धार्मिक प्रमुख दलाई लामाका भ्रमण तथा उनीबाट आगामी २१ जून २०१२को दिनमा इबीबी स्टेडियम, अल्डरशटमा नागरिक सम्बोधन अथवा प्रवचन दिने जानकारी दिएका थिए । गुम्बा भवन खरिदका लागि चालिएको अभियानमा नेपालबाट पनि पन्द्रहलाख जति अनुदान प्राप्त भइरहेको जानकारी मे.रि. डमर घले (ट्रस्टी अभियानका संयोजक)ले बताएका छन् । दान दिनेहरुमा भाटभाटेनी, सुपर मार्केटका मिन गुरुङ पनि रहेका छन् भनी मे.रि. डमर घलेले मेसलाई बताएका थिए । -सुमल, मेस ।
प्रतिक्रिया