कांग्रेस हार्न तयार, तर जातीय राज्य मान्ने

कांग्रेस हार्न तयार, तर जातीय राज्य मान्ने


काठमाडौं । नेपाली कांग्रेसले संबिधानसभामा हुने मतदानमा हार बेहोर्न तयार रहेको तर जातीय राज्यमा जान कुनै हालतमा पनि तयार नहरेको स्पष्ट पारेको छ । राज्य पुनःसंरचनाबारे प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच मंगलबार भएको छलफल कांग्रेसले जातीय राज्य राज्य स्वीकार्नुभन्दा आफ्नो अडानलाई सुरक्षित राख्नेगरि मतदानमा जान तयार रहेको बताएको हो । ‘हामी सीमाङ्कन, रेखाङ्कन लगायतका केही लचिलो हुन तयार छौं’ कांग्रेस नेता अजुर्ननरसिंह केसीले भनेकाछन् -’तर माओवादीले भने जस्तो एकल जातीय राज्य कुनै हालतमा स्वीकार्य हुँदैन । अब मल्पमतमा पारे पनि प्रक्रियामा जान तयार छौं ।’

दलहरुबीच मंगलबार विहानबाट साँझसँम्म विभिन्न चरणमा छलफल भएपनि कुनै सहमति हुन सकेन । छलफलमा माओवादीले १० र कांग्रेसले ७ प्रदेशको पुरानै अडान दोहोर्‍याएका छन् । माओवादीले प्रस्ताव गरेको १० प्रदेश एकल जातीय राज्यको प्रस्ताव भएको भन्दै कांग्रेसले कुनै हालतमा स्वीकार्य नहुने बताएको छ । माओवादीले भने १० प्रदेशको प्रस्ताव नै व्यवहाररिक र बैज्ञानिक भएको अडान राख्दै आएको छ ।

दलहरुबीचको छलफलमा कांग्रेस र एमालेका केही नेताले ९ प्रदेशको विकल्प अघि सारेका छन् । एमाले सचिव शंकर पोखरेल, कांग्रेस नेता मिनेन्द्र रिजाल लगायतले कांग्रेसले अघि सारेको ७ प्रदेशको प्रस्तावमा मधेसका २ प्रदेशलाई ४ बटा बनाएर ९ प्रदेश बनाउनु प्रस्ताव गरेका हुन् । यसबारे विस्तृतमा भने छलफल हुन नसकेको एक नेताले बताएका छन् । दलहरुले भोलि बधुबार सहमतिको अन्तिम प्रयास गर्ने बताएका छन् ।
श्रोत अनलाइन