पूर्वराजाको वक्तव्यकोे स्वागतमा ऱ्याली !

पूर्वराजाको वक्तव्यकोे स्वागतमा ऱ्याली !


पूर्वराजा ज्ञानेन्द्र शाहबाट गत भाइटिकाको दिन दिइएको देशको दुरावस्थाको अन्त्य गर्न आफू जनताको आवश्यकता र चाहना अनुरूप नेतृत्व लिन तैयार रहेको अभिव्यक्ति देशभरका जनताहरुबाट स्वागत भैरहेको दाबी गरिएको छ । राजसंस्थाका पक्षधरहरुले यस्तो दाबी गरेका हुन् ।

यसै क्रममा बाराको सिमरा जितपुरमा महानगरपालिकाको जितपुरमा पूर्वराजाको अभिव्यक्तिको समर्थनमा ऱ्याली आयोजना गरिएको छ । नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको नेतृत्वमा निष्केको र्यालीका सहभागीहरुले पूर्वराजा शाहलाई देशको नेतृत्व सम्हालन आह्वान गरेका थिए । राजा आउ देश बचाऊ, राजा जनता एक हौं, गणतन्त्र चाहिँदैन देश टुक्र्याउन पाइँदैन, गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद, राजा तिमी अगाड़ी बढ़ जनता तिम्रा साथमा छन् लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका थिए ।

सो ऱ्यालीमा संगीतदेवी साह, अच्छेलाल साह, बजरंगी साह, सन्तोष कुमार गुप्ता, उमाशंकर प्रसाद कलवार, राजेन्द्र पाल, शिवशंकर प्रसाद, हरेराम प्रसाद रौनियार लगायत बारा र पर्साका आफूलाई राष्ट्रवादी नागरिक दाबी गर्नेहरुको प्रमुख सहभागिता थियो ।

पूर्वराजा शाहले भाइटिकाको दिन नेपालको संविधान पूर्ण नभएको, जनतामा निरासा छाएको, असल नेतृत्व नहुँदा विभिन्न खाले सङ्कट उत्पन्न भएकोले यसको अन्तयको लागि जनताको आवश्यकता अनुरुप आफुले नेतृत्व लिन तैयार रहेको बताएपछि देशभरका राष्ट्रवादी नागरिकहरु उत्साहित भई देशको विभिन्न भागमा स्वागत गर्नेहरू देखिएका छन् ।