राजालाई सक्रिय हुन अनुरोध

राजालाई सक्रिय हुन अनुरोध


काठमाडौं । ‘धर्म र राजनीति दुई यस्ता पृथक् विषय हुन् जसलाई एक–अर्काबाट टाढा राख्न सकिँदैन । विश्वको राजनीतिक घटनाक्रमलाई अवलोकन गर्ने हो भने कहीँ धर्मले राजनीतिमाथि शासन गरिरहेको छ भने कहीँ राजनीतिले धर्ममाथि ।’

रामनवमीको उपलक्ष्यमा गत बिहीबार विश्व हिन्दू महासङ्घद्वारा आयोजित हिन्दू एकता दिवसको प्रवचन कार्यक्रममा विभिन्न राजनीतिज्ञ र धर्मगुरुहरूले धर्म र राजनीतिलाई आ–आफ्नै शैलीमा विश्लेषण गरी व्याख्या गर्नुभयो ।

बौद्ध, शिख, जैन सम्प्रदायका संरक्षकहरूले पनि भाग लिएको सो सभामा धर्मको नाममा राजनीतीकरण र व्यापारीकरण भइरहेको, गाउँ–गाउँमा प्रलोभन र दबाब दिई इसाईहरूद्वारा धर्म परिवर्तन गराइरहेकोमा आपत्ति जनाउँदै धार्मिक सहिष्णुताको अभावमा बढ्न सक्ने हिंसाको परिणाम राजनीतिक हिंसाभन्दा भयानक हुने भएकाले हिन्दू एकताको रक्षाका लागि अभियान चलाउने निक्र्योल गरिएको थियो ।

श्रममन्त्री बलबहादुर राईले आफ्नै जिल्लामा इसाईहरूले सोझासाझा जनतालाई धर्म परिवर्तन गराइरहेको एक उदाहरण नै दिनुभयो ।

विश्वको एक मात्र हिन्दू देश नेपालको पवित्र स्थल पशुपति क्षेत्रमा समेत इसाईहरूले ठूलाठूला साइनबोर्ड लगाई धर्म प्रचार गर्दा पनि सरकार चुपचाप हेरिरहेको, संयुक्त राष्ट्र सङ्घमा हिन्दूहरूको पनि प्रतिनिधित्व हुनुपर्ने कथन विश्व हिन्दू महासङ्घका कोषाध्यक्ष एवम् ठूला व्यापारी शंकरलाल केडियाको थियो ।

विश्व हिन्दू महासङ्घका अध्यक्ष एवम् पूर्वमन्त्री अच्युतराज रेग्मीले विश्व हिन्दू परिषद्को विशाल भवन (काठमाडौं) निर्माण गर्न लागिएको जानकारी दिँदै सरकारीस्तरबाट हिन्दूधर्मको रक्षाका लागि एउटा मन्त्रालयको स्थापना हुनुपर्ने माग गर्नुभयो ।

अर्को पूर्वमन्त्री तथा महासङ्घका उपाध्यक्ष जयप्रकाशले बडो उत्तेजित हुँदै भन्नुभयो, ‘यहाँका राजनीतिक पार्टीहरू संवैधानिक राजालाई राजनीतिमा सक्रिय हुन अनुरोध गरिरहेका छन् । तर म राजालाई हिन्दुत्वको रक्षा गर्नका लागि सक्रिय हुन अनुरोध गर्छु । असी करोड हिन्दूको एक मात्र राजाले नै हिन्दूहरूको रक्षा गर्न सक्छन् । त्यसैले आजकै दिन एक प्रस्ताव पारित गरी राजामा बिन्ती गरौँ ।’

समारोहका प्रमुख अतिथि सभामुख रामचन्द्र पौड्यालले फुटाऊ र शासन गर भन्ने विचारबाट केही व्यक्तिहरूले धर्म र जातिको आधारमा भेदभाव ल्याउन खोजेकोमा धर्मगुरुहरूले सचेतताका साथ धार्मिक एकता कायम राख्नुपर्ने कुरामा जोड दिनुभयो ।

सरकारले धर्मको नाममा केही गरेन भन्ने भावना राख्नेहरूसँग प्रश्न गर्न मन लागेको छ भन्नुहुँदै सभामुख पौड्यालले विदेशमा इसाईको चर्चमा चढाइएका भेटी (पैसा)ले अन्तर्राष्ट्रिय स्तरमा नै सामाजिक सेवाहरू भइरहेका छन्, तर नेपालको मन्दिरमा चढाइएका भेटीको कहाँ कति सदुपयोग भएको छ भन्नेतर्फ पनि धर्मगुरुहरूको ध्यान पुग्नुपर्ने आवश्यक छ भनी औँल्याउनुभयो ।

सो अवसरमा धार्मिक भजन, वेदमन्त्र उच्चारणका साथै धार्मिक क्षेत्रमा योगदान गर्नुहुने विभिन्न व्यक्तिहरूलाई सभामुख र अन्य अतिथिहरूद्वारा कदरपत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

(घटना र विचार, २०५२ चैत २१ बुधबार)