बाघको आक्रमणबाट केटोको मृत्यु

बाघको आक्रमणबाट केटोको मृत्यु


बाघको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको एउटा गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ । पश्चिम चितवनको मेघौलीबाट उद्धार गरिएको अन्दाजी दुई वर्षको गैँडाको बच्चा गएराति मरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार अत्यन्त नाजुक अवस्थामा उद्धार गरिएको गैँडाको केटो हिजो साँझ हिँड्दै गर्दा ढलेपछि उठ्न सकेन । आफ्नो ज्यान समेत धान्न नसक्ने अवस्थाको केटोको उद्धार गरिएको थियो ।

बाघले आक्रमण गरेको घाउमा किरा परेको अवस्थामा गस्ती टोलीले देखेपछि तीन दिनअघि गैँडाको उद्धार गरेर चितवनको सौराहामा ल्याइएको थियो । शरीरका विभिन्न भागमा बाघले चिथोरेर घाउ बनाएको थियो । पिठ्यूँमा गम्भीर चोटसमेत थियो जसका कारण उपचार प्रयास सफल हुन नसकेको निकुञ्जले जनाएको छ । सौराहामा यसअघि बाढीले बगाएर उद्धार गरिएको र निकुञ्जको पश्चिम क्षेत्रमै भेटेर ल्याइएका दुईवटा गैँडाका केटा रहेका छन् ।

यसैबीच जंगली हात्तीको झुण्डले पु¥याउने नोक्सानी न्यूनीकरण गर्न कञ्चनपुरको लालझाडी गाउँपालिकाले टर्च लाइट वितरण गरेको छ । हात्तीको झुण्ड भगाउनका लागि गाउँपालिकाले रु ६१ हजार रकम खर्चेर ६० थान टर्चलाइट वितरण गरेको हो । यसैगरी, ट्रयाक्टरमा डिजेल हाली ठूलो आवाज निकाल्नका लागि रु १४ हजार मूल्य बराबरको डिजेलसमेत गाउँपालिकाबाट उपलब्ध गराइएको बताइएको छ ।

भारतीय दुधुवा नेशनल पार्कबाट बस्ती छिर्ने जंगली हात्तीको झुण्डले वर्षेनी यहाँ उखुबाली, धान र गहुँ बालीमा नोक्सानी पु¥याउनुका साथै स्थानीय बासिन्दाको घर भत्काई भण्डारण गरेको अन्न समेत खाँदै आएको छ । प्रत्येक वर्ष हात्तीको झुण्डले मानवीय क्षति समेत निम्त्याउँदै आएको छ ।