महानगर सदस्यले भिडियोमा दोस्रो पति देखाउँदै भनिन्- ‘अब म हिँडिसकेँ’

महानगर सदस्यले भिडियोमा दोस्रो पति देखाउँदै भनिन्- ‘अब म हिँडिसकेँ’


भरतपुर महानगरपालिकाको वडा सदस्यमा निर्वाचित एक महिलाले पति र जवान छोराहरू छोडेर दोस्रो विवाह गरेपछि यो विषय स्थानीयहरूबीच निकै चर्चित बनेको छ । भरतपुर महानगरपालिका– २ कि महिला कोटाबाट वडा सदस्य बनेकी सरिता सुवेदीले यातायात व्यवसायी पति, बुहारी भित्र्याएका जेठा छोरा र अस्ट्रेलिया पढ्दै गरेका कान्छा छोरालाई छोडेर दोस्रो विवाह गरेकी हुन् । नेकपा एमालेकी नेतृ उनी गत स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसकी नेतृ एलिजा अधिकारीलाई पराजित गरी वडा सदस्य बनेकी थिइन् । गाउँ, टोल र नगरमा कमरेड सरिताका नामले परिचित उनलाई जिताउन उनका पति रुद्रनाथ सुवेदी अहोरात्र खटिएको प्रत्यक्षदर्शीहरू बताउँछन् । ३९ वर्षीया सरिता जलदेवी सामुदायिक वनकी सचिवसमेत हुन् ।

प्राप्त जानकारीअनुसार उनले अमित रावल नामका भारतीय नागरिकसँग विवाह गरेर ठाउँ छोडेकी छिन् । अमित घरघरमा तन्ना, तौलियालगायतका कपडा बेच्दै हिँड्नेहरूका लागि कपडा जुटाउने साना थोक व्यापारी हुन् । भारतको सुरत (गुजरात) घर भएका उनी केही समयदेखि चितवन नारायणगढतिर व्यापार गर्दै आएका थिए । महानगरमा वडा सदस्य निर्वाचित भएपछि उनीहरूको सम्बन्ध विस्तार भएको हुन सक्ने उनको पारिवारिक स्रोतले जनाएको छ । जनप्रतिनिधि भएपछि उनी बारम्बार काठमाडांै जान थालेपछि पतिले उनीमाथि शङ्का गर्न थालेका थिए । सधँै काठमाडौं जाने कारणबारे उनले आफ्नो स्वास्थ्य ठीक नभएकोले जचाउन डाक्टरकहाँ जाने गरेको कुरा पति र छोरालाई बताउँदै आएकी थिइन् ।

श्रीमतीमाथि शङ्का लागेपछि पतिले छोरालाई आमामाथि निगरानी गर्न भने । तर, छोराले त्यो उमेरमा आमामाथि शङ्का नगर्न आग्रह गर्दै जनप्रतिनिधि बनेपछि छुट्टै प्रकारको दायित्व हुने र आमा आफैँ समझदार भएकोले आफूहरूले शङ्का गर्न नहुने बताएका थिए । तर, बाबु–छोराको उक्त विश्वास लामो समय टिक्न पाएन । गत असोज २८ गते उनी सधैँका लागि घर छोडेर अमितसँग हिँडिन् । केही दिनसम्म बेखबर भएपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा फेसबुकमा भिडियो कलमार्फत उनले विवाह गरेर हिँडेकाले आफ्नो खोजी नगर्न आग्रह मात्र गरिनन्, आफ्ना नवपतिको मुहार नै देखाइदिइन् । पति र छोरालाई भिडियो कलमा उनले अमितलाई देखाउँदै भनिन्, ‘यही मान्छेसँग विवाह गरेर म हिँडिसकँे, मलाई अब नखोज्नू ।’

फोन राखेपछि परिवारमा ठूलो विपत्ति परेझैँ सबै शोकमग्न भएको पारिवारिक स्रोतले जनाएको छ । अस्ट्रेलियामा भएको कान्छो छोरालाई कसरी भन्ने, बुहारीले के भन्लिन् ? आफन्त र छिमेकीले थाहा पाए भने के होला ? सुरुमा लुकाउन चाहे पनि एक कान दुई कान मैदान भएर हल्ला फैलियो । उनका पति रुद्रनाथ आफैँ प्रहरीसम्म पुगेर रिपोर्ट लेखाए । रिपोर्टमा बैंकमा भएको पैसा र सुन गरेर बीस लाख रुपैयाँ लगेकाले सरिता र उनका नयाँ पति अमितको खोजी गरी उक्त सम्पत्ति फिर्ताको माग गरिएको छ ।

सरिताकी आमा छोरीज्वाइँसँग बस्दै आएकी थिइन् । आफ्नी आमालाई छोडेर अन्यत्र गएपछि छोरीबिनाका ज्वाइँसँग बस्न आमालाई पनि अप्ठ्यारो भएको छ । नातिहरूले आफूहरू साथ भएकोले पिर नगर्न हजुरआमालाई सुझाएको बताइएको छ । चुनावअघिसम्म सरिता र उनका पतिबीच राम्रो सम्बन्ध भएको आफन्त र छिमेकीहरूले बताएका छन् । निर्वाचनका बेला धरौटी राख्नेदेखि लिएर सम्पूर्ण खर्च पतिले नै व्यहोरेका थिए । पति रुद्रनाथका लामो दूरीमा चल्ने तीनवटा गाडी छन् । रोचक कुरा के छ भने पत्नीले दोस्रो विवाह गरेको एक महिना नबित्दै रुद्रनाथले पनि अर्को विवाह गरिसकेका छन् । छोरा र परिवारको दबाबले आफूले विवाह गरेको भनी उनले आफन्तहरूलाई बताउने गरेका छन् ।

निर्वाचित प्रतिनिधिहरूको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा कुनै कारणले रिक्त हुन गएमा उपनिर्वाचन गर्ने व्यवस्था ऐनले गरेको छ । राजीनामा दिएमा, मृत्यु भएमालगायतका कुराहरू ऐनमा उल्लेख भए पनि दोस्रो विवाह गरेर अन्तै गएमा के गर्ने भन्ने उल्लेख छैन । उनले राजीनामा पनि नदिएको अवस्थामा उक्त स्थानलाई कानुनी रूपले रिक्त भन्न पनि नमिल्ने अप्ठ्यारो कानुनी अड्चन पनि भरतपुर महानगरपालिकालाई आइपरेको छ । स्थानीय सरकार सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उल्लेख स्थानीय जनप्रतिनिधिले गर्ने शपथग्रहणमा ‘सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमानदारीका साथ गर्नेछु’ भनिएको छ । यही शपथ अन्य पदाधिकारीहरूसँगै सरिताले पनि खाएकी थिइन् ।