पर्यटकलाई दुःख नदिन व्यवसायीसँग आग्रह

पर्यटकलाई दुःख नदिन व्यवसायीसँग आग्रह


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले व्यवसाय गर्ने नाममा पर्यटकलाई दुःख दिने काम नगर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाल पर्वतारोहण संघको ४४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सचिव न्यौपानेले नेपालमा रहेका हिमालको गरिमा र सुन्दरतालाई कसरी बढाउन सकिन्छ भन्नेबारे सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयो । ‘नेपालमा कसरी धेरै विदेशी पर्यटक भित्र्याउन सकिन्छ, त्यो बारे सोचौँ,’ उहाँले भन्नुभयो । राससका अनुसार उहाँले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई धेरै अधिकार दिएको भन्दै हिमाल नवीकरण गर्नेमा मन्त्रालयले नरोक्ने बताउनुभयो ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले नेपालको साहसिक पर्यटनको विकासमा नेपाल पर्वतारोहण संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा पर्यटकको सेवा सुविधालाई झन् व्यवस्थित बनाउन आग्रह गर्नुभयो । ‘मूल्यको प्रतिस्पर्धाका नाममा पर्यटकलाई दिने सुविधालाई सम्झौता गर्न हुँदैन,’ उहाँले भन्नुभयो ।

संघका अध्यक्ष सन्तवीर लामाले संघले स्थापनाकालमा लिएको उद्देश्य पूरा गर्दै पर्यटन क्षेत्रको विकास र विस्तारमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा संघले हरेक वर्ष वितरण गर्ने पुरस्कार घोषणा गरेको छ । संघका संस्थापक सदस्य शम्भु तामाङको संयोजकत्वमा रहेको पुरस्कार छनोट समितिले छनोट गरेको व्यक्तिको नाम घोषणा गरेको हो ।

यस वर्षको स्वर्गीय कुमार खड्गविक्रम साहसिक पुरस्कार आठ हजार मिटरभन्दा माथिको १४ हिमाल आरोहण गरिसकेका मिङ्मा शेर्पा, स्व डा हर्क गुरुङ पर्वतीय पुरस्कार सीमाविद् बुद्धिनारायण श्रेष्ठ र स्व दावा नर्बु पर्यटन पत्रकारिता पुरस्कार द राइजिङ नेपालका पत्रकार वल्लभमणि दाहाललाई प्रदान गर्ने भएको छ ।

स्व. कुमारखड्ग विक्रम साहसिक पुरस्कार र स्व डा हर्क गुरुङ पर्वतीय पुरस्कार पाउनेलाई पदक र सम्मानपत्र तथा स्व. दावानर्बु पर्यटन पत्रकारिता पुरस्कार पाउनेलाई रु २५ हजार नगदद्वारा सम्मान गरिने संघले जनाएको छ ।

पुरस्कार संघको साधारणसभाका अवसरमा प्रदान गरिने छनोट समितिका संयोजक तामाङले बताउनुभयो ।