मंसिर २१ मा हुने दोस्रो चरण निर्वाचनको उम्मेदवारी मनोनयन आज

मंसिर २१ मा हुने दोस्रो चरण निर्वाचनको उम्मेदवारी मनोनयन आज


निर्वाचन आयोगको घोषित कार्यतालिका अनुसार दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्बाचन हुने ४५ जिल्लाहरुमा आज मनोनयन हुँदैछ ।

आगामी मंसिर २१ गते हुने निर्बाचनका लागि दलहरुले मनोनयन गर्ने छन् ।

दोस्रो चरण अन्तर्गत निर्बाचन हुने ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र छ । प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्र रहेको निर्बाचन आयोगले जानकारी दिएको छ ।

यसअघि पहिलो चरणको निर्बाचनका लागि दलहरुले कात्तिक ५ गते ३२ जिल्लामा उम्मेदवारी मनोनयन दर्ता गरिसकेका छन् । यी जिल्लामा मंसिर १० गते निर्वाचन हुँदैछ । दलहरु प्रचारमा समेत लागीपरेका छन् ।

बिहीबार कार्यालय समयभित्र दलहरुले उम्मेदवारी दर्ता गराउन सक्ने आयोगले स्पष्ट पारेको छ । आयोगका अनुसार जिल्लामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट दुवैतर्फको उम्मेदवारी दर्ता गराउन सक्ने प्रवन्ध मिलाइएको छ ।

उम्मेदवारी दर्ता कसरी गराउने ?
प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराउन चाहनेले दलको सिफारिस पत्रसँगै एकजना प्रस्तावक र १ जना समर्थकको सहयोगमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् । प्रस्तावक र समर्थक भने उम्मेदवारी दिने क्षेत्रकै हुनुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

उता, प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिन चाहने व्यक्तिले पनि प्रतिनिधिसभाको उम्मेदवारले जस्तै गरी आफ्नो दलको सिफारिसपत्र पनि पेश गर्नुपर्दछ । धरौटी जम्मा गरेको रसिद, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र आफ्नो निर्वाचन क्षेत्रभित्रको मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण पेश गर्नुपर्ने छ । अन्यथा मनोनयन दर्ता गर्न मिल्दैन् ।