जंगी अड्डामा निर्वाचन सुरक्षासम्बन्धी छलफल

जंगी अड्डामा निर्वाचन सुरक्षासम्बन्धी छलफल


नेपाली सेनाले ‘निर्वाचन सुरक्षासम्बन्धी एकदिने छलफल कार्यक्रम’ सम्पन्न गरेको छ । रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख आतिथ्यतामा जङ्गी अड्डामा आयोजित छलफल कार्यक्रममा रक्षामन्त्री प्रधानले विगतमा सम्पन्न विभिन्न निर्वाचनहरूका साथै स्थानीय तहको गत निर्वाचनका विभिन्न चरणमा सुरक्षासम्बन्धी जिम्मेवारी अत्यन्त प्रभावकारी रुपमा निर्वाह गर्दै उक्त निर्वाचनलाई सफल पार्न नेपाली सेनाले पु¥याएको योगदान कदरयोग्य रहेको कुरा बताउनुभयो ।

सम्बोधनकै क्रममा मन्त्री प्रधानले आगामी मंसिर महिनामा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा तोकिएको समयमै सम्पन्न गर्न कटिबद्ध रहेको उल्लेख गर्दै विगतको अनुभव र आफ्नो पेशागत दक्षताका आधारमा निर्वाचन सुरक्षाको जिम्मेवारी निर्वाह गर्न नेपाली सेना सफल रहने कुरामा पूर्णरुपमा विश्वस्त रहेको बताउनुभएको थियो । वहाँले जङ्गी अड्डाको निर्देशन बमोजिम पृतनापतिहरुले योजनाबद्ध रुपमा फौज परिचालनका साथै सम्बन्धित अन्य निकायहरुसँग समन्वय र सहकार्य गर्दै निर्वाचन सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।

यसैबीच, छलफल कार्यक्रमको क्रममा सम्बन्धित विभागहरूबाट वस्तुस्थितिको विश्लेषण तथा समीक्षा प्रस्तुत भएको थियो भने सबै पृतनापतिहरूले आ–आफ्ना जिम्मेवारी क्षेत्रका निर्वाचन सुरक्षा योजना सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले समापन मन्तव्य व्यक्त गर्नुहुँदै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली सेनालाई प्राप्त जिम्मेवारी प्रभावकारी रुपमा सम्पन्न गर्ने सिलसिलामा विभिन्न विभाग र पृतनाहरुले गरेको प्रस्तुतीकरण र अन्तरक्रियाबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरुका लागि सम्पूर्ण सहभागिहरुलाई धन्यवाद दिनुहुँदै वहाँले यसअघि सम्पन्न स्थानीय निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने क्रममा जङ्गी अड्डाबाट दिईएका निर्देशनहरुको साथै हालै जङ्गी अड्डाबाट प्रेषित मार्ग निर्देशन अनुसार आवश्यक योजना र पूर्व तयारीसहित आफ्नो जिम्मेवारीलाई व्यवसायिक तथा उत्कृष्ट ढङ्गबाट पूरा गर्दै आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा पनि कुनै कसर नराखि नेपाली सेनाले शान्तिपूर्ण ढङ्गबाट सु–सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

छलफल कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी बलदेवराज महतले स्वागत् मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा निमित्त रक्षासचिव ऋषि राजभण्डारी, पृतनापतिहरु लगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

यस्ता छलफल र आपसी अन्तरक्रियाको माध्यमबाट प्राप्त रचनात्मक सुझावहरुले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई सफलताकासाथ सम्पन्न गराउन ठोस योगदान पुग्नुको साथै नेपाली सेनाको रचनात्मक भूमिकाले सम्पूर्ण निर्वाचन क्षेत्रहरुमा मतदानपूर्व, मतदानको समय र मतदान पश्चात्समेत निर्वाचनमा भाग लिने मतदाता, उम्मेद्वार, कर्मचारी तथा सर्बसाधारण जनतामा भयरहित वातावरण श्रृजना भई सबैले आ–आफ्नो तर्फबाट उत्साहपूर्वक निर्वाचनमा सहयोगि भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास नेपाली सेनाले लिएको छ ।