वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी

वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी


नेपाल सरकारको सामाजिक सुरक्षा भत्ता बापतको रकम रामपुर नगरपालिकाले वडा वडाबाट वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन् ।

रामपुर नगरपालिकाका धेरै वडा विकट र दुर्गममा रहेको हुँदा बैंकमा भत्ता लिन आउन जान निकै कठिन परेका बेला वडा वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरुको मुहारमा खुशी झल्किएको छ ।

बैंकमा घण्टौँसम्म लाइन लागेर वृद्घभत्ता बुझ्दै आएका रामपुर नगरपालिका–४ का ९८ वर्षीय धनबहादुर श्रेष्ठ यस आर्थिक वर्षको पहिलो चौमासिकको भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित भएका छन् । उनले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा बापतको भत्ता रकम बुझ्दै नगरपालिका र जनप्रतिनिधिलाई धन्यवाद दिए ।

उनि भन्छन्, ‘निर्वाचनका बेला भोट माग्न आउँदा वृद्ध भत्ता वडा वडाबाट दिन्छौँ भन्थे, त्यतिबेला विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिबद्धताअनुसार नै काम शुरु गरेकामा निकै खुशी लागेको छ ।’ यसरी नै निर्वाचनका बेला गरेका प्रतिबद्धता जनप्रतिनिधिले बिस्तारै काम गर्दै गए देशले सही निकास पाउने उहाँको धारणा छ ।

त्यस्तैगरी, रामपुर नगरपालिका–३ की ९६ वर्षीय लीलादेवी बस्याल पनि वडा वडाबाट वृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर घरमा आएको जस्तो लागेको बताउँछिन् । ‘भत्ता बुझ्नका लागि दुई घण्टा हिँडेर रामपुरको बेझाड बजारमा जानुपथ्र्यो, बूढेसकालको शरीर आउन जानै समस्या, अहिले त नगरपालिका र जनप्रतिनिधिले ज्येष्ठ नागरिकको मनोभावना बुझेर होला वडाका विभिन्न गाउँ गाउँबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन्’ उनले भनिन् ।

उहाँहरु जस्ता धेरै ज्येष्ठ नागरिकलाई वडा वडाबाटै भत्ता वितरण कार्यले ठूलो राहत मिलेको छ । बैंकमा भत्ता लिन जाँदा नागरिकको भीडले पालो नपाएर कहिलेकाहीँ त्यसै फर्किनु परेको रामपुर–५ की तेजमाया भण्डारीको भनाइ छ । ‘अहिले त वडामा गएपछि घण्टौँसम्म लाइनमा बस्नु परेन, आउन जान पनि सजिलो, घर नजिकैबाट भत्ता बुझ्न पाएपछि समय पनि बचत भएको छ’, उहाँले खुशी हुँदै भनिन् ।

ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै नगरपालिकाले विकट र दुर्गम वडाका विभिन्न स्थानबाट उनीहरुलाई पायक पर्ने गरी सामाजिक सुरक्षा बापतको भत्ता वितरण कार्य सञ्चालन गरिरहेको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । उनले आफँै पनि वडा वडामा पुगेर ज्येष्ठ नागरिकलाई भेटघाट गरी भत्ता वितरण कार्यमा सरिक भएका छन् । उनको यो व्यवहारले पनि यतिबेला ज्येष्ठ नागरिकमा थप उत्साह बढेको पाइन्छ ।

रामपुर नगरपालिकाका विभिन्न वडामा अहिले क्रमैसँग भत्ता वितरण कार्य चलिरहेको छ । कर्मचारीको अभावका कारण भने नगरका दशवटै वडामा एकै साथ सामाजिक सुरक्षा बापतको भत्ता वितरण गर्न कठिनाइ परेको छ । यसले गर्दा नगरपालिकाले पालैपालोसँग वडा वडाका विभिन्न स्थानबाट सेवा दिँदै आएको छ । —सुशीला रेग्मी, रासस