बाबुको सपना पूरा गर्न छोरीहरू सक्रिय

बाबुको सपना पूरा गर्न छोरीहरू सक्रिय


अभिभावक वा आफन्तको मृत्युपश्चात केही दिन रोएर शोक मनाउने, दिन बित्दै गएपछि विस्तारै बिर्सने प्रवृत्तिजन्य प्रचलनलाई अर्घाखाँचीका केही चेलीले तोड्ने प्रयास गरेका छन् ।

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १० निवासी टिकाराम चुँदालीले व्यक्तिगत सक्रियतामा ०१७ सालमा गाउँमा श्री सरस्वती आधारभूत विद्यालय खोलेका थिए । उक्त विद्यालयलाई सुविधासम्पन्न तुल्याउने चाहना पूरा हुन नपाउँदै करिव आठ वर्षअघि उनको देहान्त भएको थियो । उनीबाट जन्मिएका सन्तानमध्ये छोरीहरू सरस्वती चापागाई, कोमल पौडेल र जाल्पा भुसालले गत साता उक्त विद्यालयलाई धेरथोर सहयोगी हात बढाउने कार्यको शुरुवात गरेका छन् ।

एक समारोहका बीच टिकाराम गोमादेवी चुँदाली छात्रवृत्ति स्मृति कोष स्थापना गरि जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरि एक लाख एकाउन्न हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद चुँदालीको सभापतित्व रहेको सो कार्यक्रममा जिविसका पूर्वसभापति पिताम्बर भुसालको प्रमुख आथित्यता रहेको थियो । प्रमुख अतिथि भुसालले आफनो मनत्व्यमार्फत सराहनीय कार्यको प्रशंसा गर्दै यसबाट सबैजनाले सेवाधर्मको पाठ सिक्न अनुरोध गरेका थिए ।

भुसालले रोजगारीको अभावमा धेरैजना विदेशिन बाध्य हुनुपरेको अवस्थामा सामुदायिक विद्यालयहरूमा लगानी मात्र हैन अब निगरानी गर्ने जिम्मेवारी समेत स्थानीयको काँधमा आएको उदघोष गरे । उनी स्थानीय क्षेत्रमा समाजसेवीका रुपमा चिनिँदै आएका छन् ।

गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा बेल्जियमबाट विजयी सरस्वती चापागाईंलाई सोही अवसरमा नेकपा एमाले भुनपा–१० वडा कमिटीको आयोजनामा स्वागत समेत गरिएको थियो । उनले आफ्ना पिताले शिक्षाक्षेत्रमा गर्न लागेको सेवाकार्यलाई आफूले आगामी दिनमा सक्दो अघि बढाउने प्रतिबद्धता जनाइन् ।