विर्तामोड घटनामा जे देखियो…

विर्तामोड घटनामा जे देखियो…


– रेजिना गौतम

झापाको विर्तामोडमा न्याय माग्दै गरेको प्रदर्शनका क्रममा बाटो हिँड्ने मान्छे र पसलमा काम गर्न आएका मजदुरहरू पनि प्रहरीको गोली र लाठीको शिकार भए । विहान १० तिरै विर्तामोडस्थित रेन्बो टेलर्सका काम गर्दै गरेको अवस्थाका मजदुर पथरियाका रवि राजवंशीलाई प्रहरीले सटरभित्रैबाट निकालेर कुटपिट गऱ्यो । त्यसलगत्तै मुख्य राजमार्गस्थित नटराज मिष्ठान्न भण्डार अगाडि फ्ल्यास ब्यानर बोकेर उभिएका एक युवाको टाउकोमाथि अन्धाधुन्ध लाठी बजाऱ्यो ।

निर्दोष युवामाथि प्रहरीले एकाएक लाठी वर्षाउन थालेपछि आक्रोशित स्थानीय प्रहरीमाथि सडकमा जे भेटिन्छ त्यही लिएर खनिए । जुन क्रममा प्रहरीले केही अश्रुग्यास प्रहार गऱ्यो । तर प्रहरीको ज्यादती देखेका स्थानीय पछाडि सर्नुभन्दा अगाडि बढे । त्यसपश्चात प्रहरी आफैं पछाडि हट्यो र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आसपासमा केन्द्रित भयो ।

यसअघि नै प्रहरीले ३ महिलासहित ३४ जनालाई धरपकड गरिसकेको थियो । प्रहरीले पक्राऊ गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखेका एक युवा रुँदै विर्तामोडका मेयर ध्रुवकुमार शिवाकोटीलाई फोन गरेर भन्दै थिए– ‘म दाइ मलाई कुट्यो, पाथीभरा कसम दाइ, म आन्दोलनमा आएको पनि होइन यहाँ आइदिनु पऱ्यो । शुक्रवार अन्धाधुन्ध कुटाइको शिकार भएका प्रतिनिधि पात्र मात्र हुन् ।

मुक्तिचोक उत्तर शनिश्चरेरोडबाट ठूलो संख्यामा आउँदै गरेको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले धरपकड शुरु गरेपछि तितर–वितर भएको भिड र रमितेहरू मुक्तिचोकको चारैतिर उभिएका थिए । तर जब प्रहरीले सडक आसपासमा बसेकालाई जबरजस्ती हप्काउन, खेदाउन र लाठीचार्ज गर्न शुरु गऱ्यो, तब परिस्थिति अर्कै बन्यो । सडकमा टायरहरू बल्न थाले । झण्डै पौने १ सम्म मुक्तिचोक पश्चिमतर्फ केन्द्रित भिड पूर्वतर्फ आउन सकेको थिएन । त्यसपश्चात जनपद र शसस्त्र दुवै अगाडि लागे, पछि-पछि भिड नारा-जुलुससहित बाहिर इलाका प्रहरी कार्यालयको अगाडि आयो । प्रहरी अलि-अलि गर्दै इलाकाभित्र छिऱ्यो ।

शान्तिपूर्ण विरोध जुलुसमा प्रहरीको ज्यादतीविरुद्ध आक्रोशित भिडले इलाका प्रहरी छिर्ने बाटो आगो बालेर बन्द गरे । सडक विभागका करोडौंका सम्पत्तिमा आगो लगाउनेदेखि त्यहाँका कागजपत्र जलाउने तथा पुरानो इलाकाको अगाडि रहेको पर्खाल समेत भत्काए ।

भिडले पर्खाल भत्काउने काम शुरु गर्दा नगर्दै सुरक्षा परिषदले कफ्र्युको निर्णय गरिसकेको थियो । विर्तामोडमा साढे १ बजेबाट कर्फ्युजारी गर्ने निर्णय १ बजेर २० मिनेटमा भएको स्रोतले बताएको छ । यहाँ कर्फ्यु लगाउँदा जनतालाई गन्तव्यसम्म पुग्न दिइने सामान्य सूचना र समयपनि दिइएन। जुलुसमा सहभागी भएका मानिसहरूले कर्फ्यु लागेको पत्तै पाएनन् ।

त्यसो त प्रशासनकै भनाईमा कर्फ्यु लागेको झण्डै अढाई घण्टापछि प्रहरीले प्रदर्शनकारीले बालेको आगो पार गरी मुख्य राजमार्गमा पुग्दा एकजना व्यक्ति ठिङ्ग उभिरहे, अन्य हुल सबै भाग्यो । आँखामा हात लगाएर उभिएका ती युवकमाथि शसस्त्र प्रहरीले बुटले छातिमा हानेर लडाइ अनि त्यहीमाथि निर्मम कुटे प्रहरीले पाँचजनाले कुटेपछि अर्का एकप्रहरीले कुट्नबाट छेके । संगैरहेका एकमात्र मानव अधिकारकर्मीलाई बोल्न दिइएन् । केही पर लगेर मानवअधिकारकर्मी विष्णु खरेल लाठी उज्याइयो । प्रहरीको यो ज्यादतीको शुक्रवार धेरैले सामना गर्नुपर्यो । शसस्त्रको बुटले हानेका ती व्यक्तिको तस्बिर टेलिभिजनले लिन क्यामेरा तेस्र्याउँदा त्यहाँ पनि रोकियो ।

कामका शिलशिलामा विर्तामोड आएकाहरू मध्ये प्रहरीको गोली लागेर बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार गराइरहेका पाँच जनामध्ये तीनजनाले नियमित काममा आउँदा गोलीको शिकार भएको बताएको छन् । शुक्रबार काम गर्न आएका राजगढका सुनील पाठकलाई घर फर्कने क्रममा गोली लागेको थियो भने कनकाईका सुशील घतानीलाई पनि आन्दोलन हेर्ने क्रममा गोली लागेको बताएका छन् ।

पेट र हातमा गोली लागेका इलामको माई नगरपालिकाका मणिकुमार नेपाली पनि आन्दोलनमा सहभागी नभएको बताइएको छ । प्रहरीले मनपरी गोली प्रहार गर्दा सर्वसाधारण निशानामा परेको स्थानीयको आरोप छ । मेचीनगर नगरपालिकाका अशोक बस्नेतको पनि देब्रे हातमा गोली लागेको र उनको पनि आइसीयुमा उपचार भइरहेको छ । त्यस्तै राजगढका सुनील पाठकको हिप र पिठ्युँमा गोली लागेको छ उनीहरू बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचाररत् छन् । खुट्टामा गोली लागेका अर्जुनधाराका पुण्यप्रसाद लुइँटेल र टाउकोमा चोट लागेका नवराज कोइराला पनि उपचारकै क्रममा छन् ।

न्यायको खोजीमा आएकाहरू त पीडित भए नै तर रोजीरोटीका लागि हिँडेका निहत्था जनतामाथि खनिएर प्रहरी प्रशासन ज्यादती गरेको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना र उपप्रमुख कमला आचार्य दुवैको हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

लोकतान्त्रिक मुलुकमा न्यायोचित छानविनको माग गर्ने मौलिक अधिकार हुँदाहुँदै स्थानीय प्रशासनबाट गोली चलाउने काम हुन प्रहरीको कमजोरी भएको उल्लेख गर्दै विज्ञप्तिमार्फत गोली चलाउने दोषीलाई कारवाहीको माग गरिएको छ ।

त्यस्तै प्रहरीले कर्फ्यु जारी भएको सूचना आफूलेसम्म नपाएको विर्तामोड नगरपालिका प्रमुख ध्रुबकुमार शिवाकोटीले बताएका छन् । उनका अनुसार उक्तदिन विहानैदेखि प्रहरीले शान्तिपूर्ण जुलुसमा हस्तक्षेप गरेको उल्लेख गरे । लोकतन्त्रमा शान्तिपूर्ण रुपमा आफ्ना मागहरू राख्न पाउने अधिकार हुदा हुर्दैै प्रहरी प्रशासनबाट लोकतान्त्रिक पद्वतीको धज्जी उडाउदै विज्ञप्तिमा उल्लेख छ ।

भनिएको छ त्यसैगरी विर्तामोड उद्योग वाणिज्य संघले एक विज्ञप्ति जारी गर्दै पसलमा व्यवसाय गरि रहेका व्यवसायीहरूलाई प्रहरी छिरेर गरेको कुटपिट एवं सर्वसाधारणहरूलाई गरेको ज्यादतीको घटनाप्रति घोर निन्दा र भत्र्सना गर्दछौं ।

शिवाकोटीको रहस्यमय मृत्यु र प्रहरीले अनुसन्धानका लागि चासो नराखिएकोमा घटनापछि जति संघसंस्था वा स्थानीय राजनीतिक दल, जननिर्वाचित प्रतिनिधिले गम्भिरतापूर्वक हेरेको भए जुन दुःखद घटना भयो त्यो हुने नै थिएन । रहस्यमय मृत्युको संवेदनशीलतामा उर्लिएको शान्तिपूर्ण भावनालाई लाठी र बन्दुकले नियन्त्रण गर्न खोज्ने प्रशासनको कमजोर मानसिकताका कारण उब्जिएको जटिल परिस्थिति थियो ।