चुनाव जित्ने दाबीसहित डा. बिसीले भने, ‘मेरो तलब भत्ता जनताको स्वास्थ्यका लागि’

चुनाव जित्ने दाबीसहित डा. बिसीले भने, ‘मेरो तलब भत्ता जनताको स्वास्थ्यका लागि’


आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका अर्घाखाँचीका कांग्रेस नेता डा. रामबहादुर बिसीले आफूले सांसदका रुपमा पाउने तलब तथा सेवा सुविधा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन् ।

आफू स्वास्थ्य क्षेत्रमा काम गरिरहेको र सरकारले दिने एक लाखले मात्र क्यान्सरको उपचार सम्भव नभएर हजारौँको ज्यान गएको कारण आफू निर्वाचनमा विजय भएमा आफूले पाउने सबै तलब, सेवा–सुविधा क्यान्सर रोगीको उपचारमा खर्च गर्ने प्रतिबद्धता जनाए ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. बिसीले जनता भनेका जनार्दन भएकाले आफूले पाउने तलब तथा सेवा सुविधा जनताकै नाममा खर्च गर्ने अभिलाषा भएको बताउँदै अर्घाखाँचीलाई नमूना जिल्ला बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गरे ।

आफू जिल्लाको विकासका लागि निरन्तर लाग्ने र नमूना जिल्ला बनाउने अभियानमा लाग्ने प्रतिबद्धतासँगै जनताले यसपटक फरक व्यक्ति खोजेकाले आफू जित्ने निश्चित भएको दाबी गरे ।