जनार्दनको घरमा ‘विप्लव’को कालो झण्डा

जनार्दनको घरमा ‘विप्लव’को कालो झण्डा


नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर यतिबेला बिनाविभागीइ मन्त्री छन् । मन्त्री भए पनि उनीसँग अहिले सत्ताको शक्ति छैन । सत्ता र शक्ति हासिल गर्नेकै लागि जनार्दन यतिबेला संसदीय निर्वाचनमा होमएका छन्, अर्थात् चुनावी दौडाहामा गृहजिल्ला रुकुममा छन् ।

गृहमन्त्री बनेर सत्ताको शक्ति पोल्टामा भएको बेला जनार्दनले आफ्ना पूर्व सहकर्मी माओवादी कार्यकर्ताहरुमाथि दमन गरेको आरोप लगाउँदै उनको रुकुमस्थित घरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो ब्यानर टाँगिदिएका छन् । नेकपा रुकुम जिल्ला कमिटीको अग्रसरतामा प्रभाकरको घरमा कालोझण्डा गाडिएको हो ।

नेपाल कम्युनिष्ट पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, प्रशासन लगाएर आफ्ना नेता कार्यकर्तामाथि दमन गर्न लगाएको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको लगायतका आरोप लगाउँदै अहिलेका लागि चेतावनीस्वरुप प्रभाकरको घरमा कालोझण्डा गाडेको नेकपा रुकुमले जनाएको छ ।

चुनाव प्रचारको क्रममा प्रभाकर रुकुममै रहेको बेला नेकपा कार्यकर्ताहरुले गत शुक्रबार रातको समयमा ‘दलाल संसदीय व्यवस्था मूर्दावाद’ लेखिएको व्यानर र कालोझण्डा जनार्दनको घरमा टाँगेका हुन् । विप्लवले अलग्गै माओवादी पार्टी सञ्चालन गरेपछि विप्लवविरुद्ध प्रभाकर विशेष रुपले खनिदै आएको माओवादी कार्यकर्ताहरुको बुझाई रहेको छ ।