जोशीको खारेज, सिलवालको उम्मेदवारी कायम

जोशीको खारेज, सिलवालको उम्मेदवारी कायम


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ जिल्लाको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी कायम नरहने निर्वाचन आयोगको निर्णय यतिबेला निकै चर्चाको विषय बनेको छ । कांग्रेसका वरिष्ठ नेता पौडेलले जोशीको उम्मेदवारीविरुद्ध उजुरी दर्ता गरेपछि छानविन गर्दा जोशीले नैतिक पतन देखिने फौजदारी कसूर भ्रष्टाचारमा विशेष अदालतमा सजाय पाएको देखिन आएकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ अनुसार स्वतन्त्र उम्मेदवार जोशीको उम्मेदवारी कायम नरहने निर्णय भएको आयोगले हिजो शनिबार जनाएको हो ।

निर्वाचन आयोगले जनाएअनुसार आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएकामध्ये १० जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । यसरी उजुर परेकामध्ये मोरङ जिल्ला क्षेत्र नं ६ को ख का उम्मेदवार नसरुल मियाँको पनि उम्मेदवारी खारेज भएको छ । दलको आधिकारिक उम्मेदवार नरहेको भन्ने उजुरीको छानबिनपछि उनको मनोनयन खारेज गरिएको हो ।

यस्तै, नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार ऋषिराम पौडेलविरुद्ध कांग्रेस नेता देवेन्द्रराज कँडेलले दिएको उजुरीको छानबिनपछि पौडेलको उम्मेदवारी मनोनयन पनि बदर भएको छ भने कास्की जिल्ला निर्वाचन क्षेत्र नं ४ को ख का उम्मेदवार टीकाराम पंगेनीविरुद्ध दीपक कोइरालाले दिएको उजुरीको छानबिनपछि निर्वाचन अधिकृतको कार्यालय कास्कीले पंगेनीको उम्मेदवारी रद्द गरेको छ ।

यता, काठमाडौँ क्षेत्र नं ५ को ख का उम्मेदवार विदुरप्रसाद दाहालको मनोनयनपत्र पनि रित नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बदर गरेको छ भने उजुरी परेका सिरहा जिल्ला निर्वाचन क्षेत्र नं ४ को क का उम्मेदवार दिलीपकुमार साह, सुनसरी निर्वाचन क्षेत्र नं २ को ख का उम्मेदवार हेमकर्ण पौडेल, ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ का उम्मेदवार नवराज सिलवाल, सर्लाही निर्वाचन क्षेत्र नं २ को ख का उम्मेदवार राजकुमार रायविरुद्ध परेको उजुरी चाहिँ उजुरकर्ताको माग दाबीअनुसार उम्मेदवारी बदर गर्न नमिल्ने निर्णय आयोगले सुनाएको छ ।