सबै स्थानीय सरकारको पहिलो प्राथमिकता शिक्षा

सबै स्थानीय सरकारको पहिलो प्राथमिकता शिक्षा


स्थानीय तहको निर्वाचनसँगै गठन भएका रोल्पाका दशवटै स्थानीय सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिई काम अगाडि वढाएका छन् ।

प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शैक्षिक सरोकारवालाको भेलागरी शैक्षिक अवस्था पहिचानसमेत गरेका उनीहरूले शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने योजनाको खाकासहित काम अगाडि वढाएको वताएका छन् ।

जिल्लामा शैक्षिक अवस्था निकै कमजोर रहेका कारण विकासको मेरुदण्डको रूपमा शिक्षालाई स्वीकार गरी प्राथमिकताका साथ काम थालनी गरेका छौँ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले भन्नुभयो । सबै विद्यालयको अवस्था सुधार नभएसम्म शैक्षिक उपलव्धि हासिल नहुने तर्क गर्दै भौतिक पुर्वाधारलाई निरन्तरता दिँदै शैक्षिक विकासलाई प्राथमिकतामा राखी काम थालनी गरेको उहाँले वताउनुभयो ।

शिक्षकहरूलाई समयमै उपस्थित हुने, विद्यालय सफाई, विद्यार्थीको पठनपाठनलगायतका विषय समेटेर गाउँपालिकाबाट सबै विद्यालयलाई १३ बुँदे परिपत्रसमेत गरेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले बताउनुभयो । विद्यालयको शैक्षिक विकासलाई महत्वपूर्ण स्थान दिएर रणनीतिक योजना तर्जुमा गर्नेगरी बजेट पनि विनियोजन गरेका छौँ ओलीले भन्नुभयो ।

मगर खाम भाषाबाट पठनपाठन गर्नेगरी पाठ्यक्रम परिमार्जन गर्नका लागि परामर्श थालिएको थवाङ गाउँपालिकाका प्रमुख वीरबहादुर घर्तीले बताउनु भयो । सबै विद्यालयको स्थानीय सरकारले अनुगमन गरी वास्तविकता पहिचान गरी शैक्षिक सुधारको पाँचवर्षे योजना तर्जुमा गर्ने तयारी भइरहेको छ यसैवर्षको अन्त्यसम्म थवाङ गाउँपालिकाको शैक्षिक रणनीतिक योजना बनाउँ छौँ घर्तीले भन्नुभयो ।

स्थानीय सरकारको शैक्षिक आवधिक योजना बनाउन सेभ द चिल्ड्रेनले जिल्लाका स्थानीय गैर सरकारी संस्थाको सहजीकरणमा सहयोग गरिरहेको सेभ द चिल्ड्रेनका दिलकमल क्षेत्रीले बताउनुभयो । शैक्षिक अवस्था सुधारमा स्थानीय सरकारको सक्रियता प्रशंसनीय भएको क्षेत्रीले प्रतिक्रिया दिनुभयो ।

जिल्लामा शैक्षिक अवस्था सुधारका लागि धेरै काम गर्न बाँकी रहेकाले स्थानीय सरकारले शिक्षालाई प्राथमिकतामा राखी काम गर्नु सकारात्मक भएको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले वताउनुभयो ।