पूर्वमुख्यसचिवलाई अख्तियारले बोलायो, पूर्वआइजिपी अर्यालमाथि पनि छानबिन

पूर्वमुख्यसचिवलाई अख्तियारले बोलायो, पूर्वआइजिपी अर्यालमाथि पनि छानबिन


केही दिनअघि मात्रै मुख्यसचिव पदबाट अवकाश पाएका राजेन्द्रकिशोर क्षेत्री र पूर्व प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याललाई अनियमितताको आशंकामा अख्तियारले छानबिन सुरु गरेको छ । क्षत्रीलाई ट्रान्सफर्मर खरिद प्रकरणमा अनियमितता गरेको आरोप लगाउँदै बयान लिइने र पूर्वआइजीपी अर्यालसँग चाहिँ अख्तियारले सम्पत्ति विवरण मागेको छ ।

२०७० भदौमा अख्तियारले ट्रान्समिटर खरिदमा घोटाला भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि मध्यस्तकर्ता नियुक्त गरेर प्राधिकरणको रकम अनियमित तरिकाले खर्च गरेको र अदालतलाई समेत प्रभावित पार्न खोजेको अभियोग क्षेत्रीमाथि लागेको छ ।

अदालतलाई प्रभावित पार्न खोजेको आरोपमा क्षत्रीसहित प्राधिकरणका तत्कालिन बोर्ड पदाधिकारी एवं तत्कालिन उर्जासचिव अर्जुन कुमार कार्की र विश्वप्रकाश पण्डितसँग पनि अख्तियारले बयान लिईरहेको छ । अर्जुन कार्की नेपाल सरकारको बहालवाल सचिव हुन् भने पण्डित पुर्व सचिव हुन् । पण्डितले पनि केही समयअघि मात्रै अवकास पाएका थिए ।

राजेन्द्र किशोरसहित अन्य दुई जनाको बयान सकिएपछि प्राधिकरणका तत्कालिन बोर्ड सदस्यहरु सन्तोष नारायण श्रेष्ठ, लक्ष्मण अग्रवाल, मनोज कुमार मिश्र, रामचन्द्र पाण्डे र विवेक तातेड समेतलाई बोलाउने तयारी भइरहेको अख्तियारका उच्च अधिकारीले बताए ।

यता, अकुत सम्पत्ति कमाएको उजुरी परेसँगै आयोगले बोलाएर आइतबार अर्याललाई ‘१३ पान्ने’ भराएको अख्तियार स्रोतले जनाएको छ । अर्यालसँगै शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई पनि अख्तियारले १३ पन्ने फारम भराएको छ ।

अख्तियार स्रोतका अनुसार अकुत सम्पती आर्जन गरेको आशंकामा आयोगले काठमाडौं महानगरपालिकाका डिएसपीद्वय धनपती सापकोटा र राजेन्द्र पाण्डेलाई आयोगमा बोलाएर बयान लिन शुरु गरेको छ । ।