जंगली हात्तीको आक्रमणबाट घाइते भएका विकको मृत्यु

जंगली हात्तीको आक्रमणबाट घाइते भएका विकको मृत्यु


जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१२ निवासी वृषबहादुर विकको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

गत असोज ११ गते साँझ खेतमा लगाइएको धानबाली हेर्न गएको बेला हात्तीले आक्रमण गरी गम्भीर घाइते भएका ६० वर्षीय विकको विराटनगरस्थित नोवेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीले आक्रमण गरी टाउको र छाती कुल्चेर गम्भीर घाइते बनाएकाले विगत नौ दिनदेखि उनलाई सघन उपचार कक्ष (आइसियु) मा राखिए पनि बचाउन नसकिएको चिकित्सकलाई उद्धृत गर्दै मृतक विकका छोरा रेशबहादुर विकले बताए । हात्तीको आक्रमणबाट घाइते भएका अन्य दुईजना भने उपचारपछि घर फर्किसकेका छन् ।

राससका अनुसार कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आएका हात्ती विगत एक महिनादेखि स्थानीय जंगलमा बस्ने र बेलाबेलामा आक्रमण गर्ने र अन्नबालीमा क्षति पु¥याउन थालेपछि स्थानीय राम्रोसँग निदाउन पनि पाएका छैनन् ।

जंगली हात्तीले धनजनको क्षति पु¥याउन थालेपछि स्थानीय रातभर आगो बालेर पालैपालो जाग्राम बस्न थालेको स्थानीयवासी अरुण यादवले बताउनुभयो । स्थानीयवासीले जंगली हात्तीको नियन्त्रण र आक्रमणबाट भएको जनधनको क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउनसमेत सरकारसँग माग गरेको छ ।