‘नेपालको राजनीतिमा धनबल र बाहुबलको प्रभुत्व’

‘नेपालको राजनीतिमा धनबल र बाहुबलको प्रभुत्व’


मानवअधिकारकर्मी अभियन्ता कृष्ण पहाडीले लोकतन्त्र मास्ने कुनै पनि षडयन्त्र नगर्न सम्बन्धितमा आग्रह गरेका छन् । जनताका अधिकारलाई केन्द्रमा राखेर दलका घोषणा पत्र र उम्मेदवारका कार्ययोजनामा मानवअधिकार र लोकतन्त्रका आधारभुत सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्नुपर्ने कुरामा पहाडीले जोड दिए ।

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न नागरिक सेतु अभियानमा आफ्ना धारणा राख्दै उनले नेपालको राजनीति धनवल र बहुवलबाट चलेको आरोप लगाए । पहाडीले राजनीति धनबल र बाहुवलबाट चलैकै कारण अपराधी र भ्रष्टचारीहरूको बोलवाला बढेकोमा जोड दिए ।

अपराध र भ्रष्टचारमा मुछिएकाहरूलाई राजनीतिक दलका नेताबाट संरक्षण भएकाले समाजमा अराजकताले ठाउँ पाउने गरेको पहाडीको तर्क थियो । नेपालको हालको चुनाव निकै खर्चिलो भएकाले चुनावलाई खर्चिलो बनाउन नहुने उल्लेख गर्दै नागरिकलाई स्वतन्त्र रुपमा मत दिने वातावरण बनाइदिन उनले राजनीतिक दलहरूसँग आग्रह गरे । चुनावमा अनावश्यक खर्च गरेर गलत संस्कृतिको विकास नगर्न पहाडीको विशेष आग्रह थियो ।

निर्वाचन आयोगले तयार पारेको आचारसहिंता पालना नगर्ने दललाई कारवाही गर्न निर्वाचन आयोगलाई पनि पहाडीले आग्रह गरे । उनले विगतका निर्वाचनमा निर्वाचन आयोगले आचारसहिंता उल्लंघन गर्ने राजनीतिक दललाई कारवाही गर्न नसकेकाले निर्वाचनको समयमा अराजक गतिविधि हुने गरेको बताए ।

संसदबाट समस्या समाधान खोज्नुपर्ने बताउंँदै उनले सत्ताकेन्द्रित राजनीतिले समस्या समाधान हुन नसकेको उल्लेख गरे । सत्ता केन्द्रित राजनीतिमा लागेका दलका नेतामा स्वाभिमान नरहेको बताए । अब निर्वाचन नरोकिने र निर्वाचन भाँड्ने काम नगर्न विप्लव नेतृत्वको नेकपासँग आग्रह गर्दै उनले निर्वाचनपछि भारत र चीनको सरकार बन्न नुहने, नेपालको आफ्नै वर्चश्वयुक्त सरकार बन्नुपर्ने जिकीर उनले गरे । द्वन्द्वकालमा कब्जा गरिएका नागरिकका घरजग्गा फिर्ता गर्न र गराउन आग्रह गर्दै अझै पनि नागरिकका घरजग्गा फिर्ता नभए देशमा अर्को समस्या आउन सक्ने उनको तर्क थियो । पहाडीले महिलाहरुलाई अधिकार दिन विभिन्न दलका नेताहरूले कन्जुस्याइँ गरेको आरोप लगाए ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति डा. गंगाधर अधिकारीले संविधान संशोधन गरेर असहमतिका पक्षलाई पनि सम्बोधन गर्नुपर्ने बताए । समाजका केन्द्रिय उपसभापति गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेलले पनि मन्तव्य दिएका थिए ।

– चन्द्रकान्त खनाल