बजेट अभावमा अधूरै रामपुरको ‘शहीदस्मृति पार्क’

बजेट अभावमा अधूरै रामपुरको ‘शहीदस्मृति पार्क’


देशका लागि बलिदान दिने शहीदहरुको सम्झनामा निर्माण कार्य शुरु गरिएको पाल्पा रामपुरको शहीद स्मृति पार्क बजेट अभावमा अधूरै रहेको छ ।

विसं २०५८ मा रामपुर नगरपालिका वडा नं ५ को रामतुलसी मावि नजिकै रहेको करिब १५ रोपनी खुला चौरलाई पार्कका रुपमा स्थापित गर्ने उद्देश्यले शहीद स्मृति पार्क निर्माण कार्य थालनी गरिएको हो ।

पार्क निर्माणमा पर्याप्त बजेट उपलब्ध नहुँदा अहिले नाममा मात्र पार्क सीमित बन्न पुगेको छ । अहिले यहाँको पार्कको अवस्था देख्दा लाजमर्दो अवस्थामा छ । पार्क निर्माण कार्य श्ुरु गरेको लामो समय बितिसक्यो तर यसले विकास र संरक्षण नपाउँदा पार्कको स्वरुप नै खण्डहरमा परिणत बनेको छ ।

पार्क निर्माणका क्रममा शुरुमा यहाँ एक हजार अशोकाका बिरुवा रोपण गरिएको थियो तर अहिले यहाँ कुनै पनि बिरुवाको नाम निशाना नै छैन । एक दुई वर्षसम्म पार्कका रुपमा चिनिन पुगेपनि अहिले भने यो क्षेत्र पूरै खण्डहरमा परिणत भएको छ ।

यस पार्कको विकासका लागि आवश्यक रकम कहीँ कतैबाट उपलब्ध नहुँदा यसले गति लिन नसकेको शहीद स्मृति पार्क संरक्षण समितिका अध्यक्ष हरिप्रसाद पौडेलले बताउनुभयो ।

“एक व्यक्ति एक बिरुवा हुर्काउने अभियान पनि सञ्चालन ग¥यौँ, तर घेराबार गर्न नसक्दा पार्कस्थलभित्र खुला चरनले गर्दा बोटबिरुवा नै हुर्काउन सकिएन, पार्क निर्माण कार्य बीचमै रोकिन पुग्यो”, अध्यक्ष पौडेलले भन्नुभयो ।

समितिको पहलमा विभिन्न क्षेत्रबाट सहयोग जुटाएर अहिले पार्कको चारैतिरको भाग घेराबार गरिएको छ । यहाँ विभिन्न प्रजातिका बोटबिरुवा, फूलबारी, पानीका फोहोरा, बाल उद्यान, मन्दिर, क्यान्टिनलगायतका विभिन्न भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको र झण्डै रु एक करोड बराबरको रकम लाग्ने अनुमान गरिएको समितिका अध्यक्ष पौडेलले बताउनुभयो ।

पार्क निर्माण कार्यको समयमा यस क्षेत्रका सामाजिक व्यक्तित्व, बुद्धिजीवी, स्थानीय व्यक्तिले पनि बिरुवा रोपण, गोडमेल कार्यमा सहयोग गरेका थिए । पार्क निर्माण कार्यको चरणमा जति उत्साह थियो, पछि भौतिक पूर्वाधारको विकास हुन नसक्दा यसको रेखदेख र संरक्षणको अभावमा यस पार्क अहिले नाममा मात्र सीमित बन्न पुगेको समाजसेवी लेखनाथ शर्मा मरासिनीले बताउनुभयो । पार्कको स्तरोन्नतिमा सरोकारवाला व्यक्ति, विभिन्न संघसंस्था, स्थानीयवासीले चासो नदिँदा यसले गति लिन नसकेको उहाँको भनाइ छ ।

शहीद स्मृति पार्कको स्तरोन्नतिका लागि यस वर्ष रामपुर नगरपालिकाले रु पाँच लाख रकम विनियोजन गरेको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“खण्डहरमा परिणत भएको पार्क संरक्षणका लागि नगरपालिकाले पनि सहयोग गर्दै जानेछ”, उहाँले भन्नुभयो । रामपुर नगरपालिकाकै केन्द्रबिन्दु बेझाडमा अवस्थित यो पार्कको विकास गर्न सके यहाँ दैनिक ठूलो आम्दानी हुनेछ । यसले रामपुरकै पर्यटन विकासमा टेवा पुग्नेछ । –सुशीला रेग्मी