गोरखाका माओवादी उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोलसहित गोली बरामद

गोरखाका माओवादी उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोलसहित गोली बरामद


नेकपा (माओवादी केन्द्र) की नेत्री तथा प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवार सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोलीे बरामद गरेको छ ।

गोरखा आरुघाट गाउँपालिकाबाट बा७३प ३३८६ नंको मोटरसाइकलमा चढेर भीमसेन गाउँपालिकातर्फ जाँदै गर्दा धावामा मोटरसाइकल चेकिङ गर्ने क्रममा प्रहरीले आज ९–एमएम पेस्तोल र तीन थान गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए ।

मोटरसाइकल चालक भीमसेन–४ का गुणप्रसाद खनाल फरार छन् । उनले बोकेको झोला खानतलासी गर्दा प्रहरीले सो हतियार र गोली बरामद गरेको हो । झोला छाडेर खनाल भागेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । सिम्खडाले आफूले खनालसँग मोटरसाइकलमा ‘लिफ्ट’ मात्रै मागेको हुँदा हतियारको विषयमा आफूलाई केही जानकारी नभएको बताएको प्रहरीले जनाएको छ ।