पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लियो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लियो


चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडि बढाएको छ । निर्माणको जिम्मा लिएको उक्त ठेकेदार कम्पनीले आफ्नो कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवन निर्माण गरिरहेको र ती संरचना निर्माण भएपछि अन्य काम तिव्र रुपमा अघि बढ्ने बताइएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवका अनुसार आयोजनाको मूल गेटबाट विमानस्थलसम्म पुग्ने सडक कालोपत्र गर्ने, पानीलाई तर्काउन चारवटा नाला बनाउने र विजयपुर खोलातिर पानी खसाल्ने काम सम्पन्न भएको छ भने मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको यस विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष राखिएको छ ।

स्मरण रहोस्, चीनको एक्जीम बैंकको करिब रु २१ अर्बको ऋृण सहयोगमा विमानस्थलको निर्माण गर्न लागिएको हो । गत २०७३ वैशाख १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल, उप–प्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छेदार, उप–प्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापा र नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संयुक्त रुपमा विमानस्थलको शिलान्यास गरेका थिए।