कालीगण्डकीमाथि बन्यो पक्की पुल

कालीगण्डकीमाथि बन्यो पक्की पुल


मुस्ताङको जोमसोङस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बन्नुअघि स्थानीय जनतालाई मात्र सास्ती नभई पर्यटक एवम् टाढा–टाढाबाट मुक्तिनाथ पुग्ने तीर्थयात्रीले पनि निकै कष्ट झेल्नुपर्दथ्यो । तर, अब पर्यटक र तीर्थयात्री आवतजावतका लागि मात्र सुविधा पुग्ने नभई स्थानीयवासीले समेत आफ्ना उत्पादनहरू निकासी गरेर व्यावसायिक लाभ उठाउनेलगायतका लाभ र सुविधा हासिल गर्ने भएका छन् । हजारौँ तीर्थयात्री, पदयात्री, पर्यटकले अब सुप्रसिद्ध मुक्तिनाथ मन्दिर दर्शन, माथिल्लो मुस्ताङको स्वर्गीय सौन्दर्यपान अत्यन्त सुविधाजनक रूपले गर्न सक्ने भएका छन् । यस्तो सम्भव तुल्याउने भएको छ जोमसोममा करिब साढे चार करोड लगानीमा निर्माण भएको पक्की पुलले ।

नवनिर्मित उक्त पुलको गत आइतबार उद्घाटन गरेका छन् नेपालका लागि मित्रराष्ट्र भारतका राजदूत मञ्जीवसिंह पुरीले, जो भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत भारत सरकारको सहयोगमा हालै निर्माण सम्पन्न भएको हो । पुल उद्घाटन गर्दै राजदूत पुरीले नेपाल र भारतबीचको अन्योन्याश्रित सम्बन्धमा यसले थप प्रगाढता ल्याउने विश्वास व्यक्त गरे ।

हालै मात्र मुस्ताङ जिल्लामा स्कुल भवन, धर्मशाला, मुक्तिनाथ मन्दिरको मर्मत–सम्भार, झर्कोटमा सामुदायिक भवन, मुक्तिनाथ खानेपानी आयोजना, कागबेनी नदी बचाउ आयोजनाजस्ता करिब २६ करोड लगानीका विभिन्न दश आयोजना भारत सरकारको सहयोगमा सम्पन्न भएका छन् भने ३ करोड ७३ लाख आर्थिक सहयोगमा छोनुपस्थित पल इवाम नाम्ग्यालमोनास्टिक स्कुल भवन निर्माण भइरहेको छ । यस्तै, पाँचवटा एम्बुलेन्स मुस्ताङका लागि प्रदान गरिएका छन् । बताइएअनुसार नेपालभर साना–ठूला विभिन्न ५ सय ५४ आयोजनाका लागि लगभग ७६ अर्बबराबरको आर्थिक सहयोग भारत सरकारबाट उपलब्ध गराइएको छ ।

यसैबीच गत साता धनुषा जिल्लाको यात्राका क्रममा राजदूत मञ्जीवसिंह पुरीले भारतको सहयोगमा हालै निर्माण सम्पन्न भएको तपसी बाबा माध्यमिक विद्यालय भवन उद्घाटन गरेका छन् । यस विद्यालय भवन निर्माणका लागि भारत सरकारबाट २ करोड ६५ लाख रुपैयाँ सहयोग उपलब्ध भएको थियो । विद्यालयको यस नयाँ भवन निर्माणपछि त्यहाँ अध्ययनरत करिब हजार छात्रछात्राले सुविधा पाउने विश्वास लिइएको छ । ज्ञातव्य छ, धनुषा जिल्लाका लागि भारत सरकारले विभिन्न समयमा गरी २९ वटा एम्बुलेन्स र पाँचवटा स्कुलबससमेत सहयोग उपलब्ध गराएको छ ।