ओलीदेखि महन्थसम्मलाई भोट हाल्न रोक !

ओलीदेखि महन्थसम्मलाई भोट हाल्न रोक !


एमाले अध्यक्ष केपी ओलीदेखि माओवादी नेता महन्थ ठाकुरसम्मलाई आफैँले आफैँलाई भोट हाल्न रोक लाग्ने भएको छ ।

उनीहरुले आफ्नो गृह जिल्ला र क्षेत्रभन्दा बाहिरबाट प्रतिस्पर्धा गर्न थालेपछि मतदान गर्न रोक लगाइएको हो । निर्वाचन क्षेत्रबाट बाहिर गएर प्रतिस्पर्धा गर्ने उम्मेदवारले आफ्ना लागि आफ्नो मत प्रयोग गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गएको स्थानीय निर्वाचन अघि सधैँ झापाका मतदाता थिए । स्थानीय निर्वाचन अघि उनले मतदाता नामावली भक्तपुरमा सारेका छन् । तर ओली झापा ५ बाट चुनावी मैदानमा छन् । उनले यस पटक आफैले आफैलाई मत दिन पाउने छैनन् ।

त्यस्तै, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल रौतहटको गौर नगरपालिकामा मतदाता छन् । तर उनी पनि काठमाडौँ २ बाट उम्मेदवार छन् । उनले पनि आफैलाई मत दिन पाउने छैनन् ।

काठमाडौँ १ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्माको मतदाता नामावली रुकुममा छ । त्यस्तै, काठमाडौँ २ का मतदाता रहेका पूर्वसभामुख दमननाथ ढुङ्गाना यस पटक नेपाली काँग्रेसको तर्फबाट भक्तपुर २ मा चुनावी मैदानमा छन् । ढुङ्गानाले पनि आफैलाई मत दिन पाउँदैनन् ।

रोल्पा नगरपालिकामा मतदाता रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि दाङबाट चुनाव लड्दै छन् । उनले पनि आफैलाई मत दिन पाउने छैनन् । काठमाडौँ ६ का मतदाता माओवादी केन्द्रका नेता हितमान शाक्य पनि अहिले काठमाडौँ १० को चुनावी मैदानमा छन् ।

त्यस्तै, दोलखा बैत्यश्वर गाउँपालिकामा मतदाता रहेका एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईँ पनि यस पटक आफ्नो क्षेत्रमा उम्मेदवार छैनन् ।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय चुनावमा मतदान गरेनन् । तर उनको मतदाता नामावली सर्लाहीको बलरा नगरपालिकामा छ । ठाकुर यस पटक महोत्तरी ३ बाट चुनावमा प्रतिस्पर्धा गर्दै छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मतदाता रहेका राजपा नेता राजेन्द्र महतो धनुषाबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । महतो धनुषा ३ मा काँग्रेसका विमलेन्द्र निधिसँग चुनावी मैदानमा छन् । महतोले पनि आफैलाई मत दिन पाउँदैनन् । एमाले सविच समेत योगेश भट्टराई यस पटक काठमाडौँबाट ताप्लेजुङमा उम्मेदवार बनेका छन् ।

काठमाडौँ ६ का मतदाता भट्टराईले स्थानीय निर्वाचनमा डिल्लीबजार कन्या क्याम्पसबाट मतदान गरेका थिए । माओवादी केन्द्रका नेता देव गुरुङको मतदाता नामावली मनाङको नासोङ गाउँपालिकामा छ तर प्रतिनिधिसभामा गुरुङ लमजुङबाट काँग्रेसका दिलबहादुर घर्तीसँग प्रतिस्पर्धामा छन् । यसरी दर्जनौँ नेताहरुले आफै भोट हाल्न पाउने छैनन् ।