बलात्कारको खुलासा गर्दा पीडित किशोरी प्रताडित !

बलात्कारको खुलासा गर्दा पीडित किशोरी प्रताडित !


सामूहिक बलात्कारजस्तो जघन्य अपराधको सिकार बनेर न्याय खोज्दै गर्दा प्रताडित किशोरीले उल्टै सपरिवार कुटपिटको सिकार हुनुपरेको छ । पर्सामा भएको यस घटनाको अर्को दुःखद पाटो के छ भने बलात्कारीलाई कारबाही गर्न लागिपर्नुपर्ने स्थानीय तहका जनप्रतिनिधि नै पीडितमाथि थप ज्यादती गर्न उद्यत् देखिएका छन् ।

यही कात्तिक १२ गते पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी थिइन् । उक्त जघन्य घटनाको डेढ साता बित्न लाग्दा पनि एकातिर सम्बन्धित प्रहरी–प्रशासनले दोषीलाई पक्राउ गरी कारबाही अघि बढाउन खास चासो देखाएको छैन भने पीडित एवम् उनका परिजन उल्टै असुरक्षित बन्न पुगेका छन् । हालै स्थानीय तहमा निर्वाचित एक वडाध्यक्षका छोरासहित अन्य दुई युवा बलात्कारको घटनामा संलग्न रहेको जानकारी हुँदाहुँदै पनि दोषीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि नबढाइनुको कारण के हो, पीडित पक्षले जान्न चाहेका छन् ।

घटनाको दिन मोटरसाइकलमा सवार सखुवा प्रसौनी गाउँपालिकाका वडाध्यक्ष जुमाद्दीनका छोरा मुख्तार र उनका साथी अन्सारी बाबुले किशोरीलाई जबर्जस्ती समातेर मुख थुन्दै उखुबारीमा लगेर पालैपालो बलात्कार गरेका थिए । बलात्कृत किशोरीको संवेदनशील अङ्गबाट अत्यधिक रक्तश्राव भएपछि उनलाई घटनाको भोलिपल्ट पीडकहरूले नै मोटरसाइकलमा राखी वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल पु¥याई ‘मोटरसाइकल दुर्घटनामा घाइते भएको’ भनी ढाँट्दै सामान्य उपचार गराएर गाउँमा लगी छाडिदिएका थिए । घटनाबारे थाहा पाएपछि पीडित किशोरीका अभिभावकले आवश्यक कानुनी बाटो अपनाउन खोज्दा पीडक पक्षले पैसाको मोलतोल गर्दै मिलापत्र गर्न दबाब दियो । तर, घटनाको ढाकछोप गर्न पीडित परिवार असहमत भएपछि वडाध्यक्ष जुमादिनले आफ्ना तीन छोराहरूसहित पीडितको घर पुगी उल्टै कुटपिट गरी घाइते तुल्याएको बुझिएको छ । घटना ढाकछोप गर्न नमानेपछि पीडित किशोरी र उनका बाबु–आमालाई समेत कुटपिट गरी घाइते बनाएको पीडित किशोरीका दाजु नाता पर्ने नूरआलमले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीसँग घटनाबारे जिज्ञासा राख्दा कात्तिक १६ गते मुद्दा दर्ता गरी स्वास्थ्य परीक्षण गरिएको र आरोपित युवक मुख्तार र उनका बाबुमाथि मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाइएको दाबी गरे । प्रहरीले कारबाही अघि बढाएको भने पनि यस जघन्य अपराधलाई त्यत्तिकै सामसुम पार्ने प्रयत्न भइरहेको पीडित पक्षको भनाइ छ । सामूहिक बलात्कारको घटना लुकाउन पीडितजनहरूलाई उल्टै कुटपिट गरी घाइते तुल्याउने कार्य अत्यन्त पासबिक र अमानवीय रहेकामा दुईमत हुन सक्दैन । यसर्थ, घटनाबारे यथार्थ विवरण लिई दोषीलाई हदैसम्मको कारबाही गरी पीडित पक्षलाई न्याय दिलाउन प्रहरी–प्रशासनले गम्भीर पहलकदमी लिनुपर्ने स्थानीयवासीको माग रहेको छ ।

– प्रणय साह