चीन जोडिने सडक किन पऱ्यो अर्घाखाँचीमा अलपत्र !

चीन जोडिने सडक किन पऱ्यो अर्घाखाँचीमा अलपत्र !


– मुक्तिनाथ भुसाल

उत्तर छिमेकी देश चीन जोड्ने निहितार्थ सात वर्षअघि निर्माण सुरु गरिएको ढोरपाटन सडक अर्घाखाँची सदरमुकाम सन्धिखर्क पुगेर अलपत्र परेको छ । लुम्बिनीलाई गन्तव्य बनाएर नेपाल आउने चिनियाँ पर्यटकलाई रूपन्देही, पाल्पा, अर्घाखाँची, प्युठान, गुल्मी र बाग्लुङ जिल्लासमेत छुवाउँदै ढोरपाटन आरक्षसम्म पुऱ्याउने अवधारणासहित निर्माण आरम्भ गरिएको महत्वपूर्ण सडक यत्तिका वर्ष अलपत्र हुँदा पनि राज्यको सम्बन्धित निकायले निकास निकाल्न नसक्नु उदेकलाग्दो त छँदै छ, रहस्यपूर्णसमेत ठानिएको छ ।

राष्ट्रिय महत्व बोकेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक लामो समयदेखि अर्घाखाँचीको सदरमुकाम पुगेर अड्किएको छ । राज्यको स्थानबाट हेरिँदा सडक रोकिनुको कारण त्यस्तो जटिल पनि छैन, सामान्य हो । तर, सामान्य कारणलाई जटिल देखाएर काम अड्काइरहने खेल राज्यकै संयन्त्रबाट भइदिँदा करोडौँको लगानी मात्र धरापमा नपरी महत्वपूर्ण सडको सुविधा उपभोग गर्नबाट आमनागरिक वञ्चित हुनुपरेको छ ।

सालझण्डीदेखि ठिक ३९ किलोमिटर ढोरपाटन सडक प्रयोग गरी गुल्मीको तम्घाससम्मको सडक विस्तार कार्यले तिव्रता लिए पनि ढोरपाटन पुग्नुपर्ने मुख्य सडक चुत्राबेसी बजार पुगेपछि स्थानीय–विवाद पैदा भएकोे थियो । तर, सानो खण्डको विवादले त्यत्रो आयोजना ठप्प हुँदा पनि राज्य भने बेखबर रहेको स्वाङ पारेर सुतिरहेको छ । यस सडककै लागि स्थानीय गच्छेखोलामा करिब तीन करोड बजेटमा पक्की पुल सम्पन्न हुनुका साथै ठूलै धनराशि खर्च भएका सडकछेउ पर्खालहरू पनि निर्माणाधीन अवस्थामै असरल्ल रहेका छन् । तर, चुत्राबेसी बजारमा ५ सय मिटर खण्डको विवादले गच्छेबजारदेखि करिब तीन किलोमिटर सडकमा काम हुन सकेको छैन । ट्रयाक र ग्राभेलको जिम्मा पाएका ठेकेदार कम्पनीहरू वर्षौंदेखि काम सञ्चालन हुने व्यग्र प्रतीक्षामा रहे पनि फुक्नुपर्ने ठाउँबाट समस्याको गाँठो नफुक्दा सेवाग्राही सेवा–सुविधाबाट वञ्चित त भएकै छन्, राज्यसमेत रणनीतिक महत्वको सडक उपभोग गर्नबाट चुक्न पुगेको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा नेपाली काङ्ग्रेस र माओवादी केन्द्र गठबन्धनका साझा उम्मेदवारहरू यस सडक–खण्डको विवाद मिलाउने प्रतिबद्धता जनाउँदै सन्धिखर्क नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा विजयी बनेका थिए । यस्तै, विवादास्पद वडाबाट नेकपा एमालेले विजय प्राप्त गरेको भए पनि करिब पाँच महिना बितिसक्दा पनि सडकको समस्या भने ज्युँकात्युँ रहनु विडम्बनापूर्ण छ । स्थानीय जनप्रतिनिधिहरू यस सडकको महत्व र उत्पन्न समस्याबारे पूर्ण रूपले जानिफकार भएर पनि समाधान निकाल्न किन अग्रसर हुँदैनन्, यो रहस्यको पाटो बन्न पुगेको छ ।

यहाँनेर अर्को प्रश्न पनि उत्पन्न भएको छ कि यदि स्थानीय विवाद जम्मा पाँच सय मिटर खण्डमा हो भने गच्छेदेखि चुत्राबेसीबजारको पक्की पुलसम्म ठेक्कासम्बन्धी प्रक्रिया पूरा भएर पनि सडकको काम किन हुन सकेको छैन ? यसले अनेक आशङ्का जन्माएको छ । कतै यो सडक सञ्चालन हुन नदिन बाह्य शक्ति नै लागेको त होइन भनी स्थानीय सचेतजनले प्रश्न उठाउन थालेका छन् । यस मामलालाई केवल भोट माग्ने आधार बनाउने तर विजयी बनेपछि तर्किने राजनीतिक दलका स्थानीय नेता–कार्यकर्ताहरूमाथि पनि शङ्काको औँला उठ्न पुगेको छ ।

स्थानीय निर्वाचनअघि जारी गरेको चुनावी घोषणापत्रको बुँदा नम्बर २ मा यो सडक समस्या समाधान गरिने प्रतिबद्धता नेपाली काङ्ग्रेस अर्घाखाँचीले जनाएको थियो । फलस्वरूप सन्धिखर्क नगरपालिकाको नगरप्रमुखमा नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सभापति कमलप्रसाद भुसाललाई विजयको अबिर–माला पहिरिने सौभाग्य मिल्यो । ढोरपाटन सडकअन्तर्गत चुत्राबेसीको विवाद सम्बन्धमा केन्द्रित भई उनीसँग जिज्ञासा राख्दा ‘आफूहरूले उच्च पहल गरिरहेको’ बताए । नगरप्रमुख भुसालले दाबी गरेअनुसार बखेडा झिक्ने स्थानीयवासीलाई सहमतिमा ल्याएर आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपश्चात् समस्या समाधान भई सडकको काम अघि बढ्नेछ । सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाका प्रमुख होमबहादुर एसी पनि ठेक्कापट्टा सम्पन्न भइसकेकाले जनप्रतिनिधिहरूले नै समस्याको गाँठो खोलिदिनुपर्ने धारणा राख्छन् ।

सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक करिब १ सय ९५ किलोमिटर भए पनि ७ वर्ष बित्न लाग्दासमेत कछुवाको गतिमा काम भएकाले चर्चामा छ । उक्त सडक कम्प्लिट हुन नदिन स्थानीय सरोकारवालाबीच ब्यक्तिपिच्छे अलग बुझाई रहेको पाइन्छ । तर, सडक जहाँ जति मिटर खनिएको भए पनि ७ मिटर ग्राभेल पिच हुने र ७ मिटरको बीचभागबाट दुवैतर्फ १५–१५ मिटर छोड्दा कैयन वर्षका लागि तनाव आइनपर्ने बुझिएको छ । यो कुरा आरम्भमै सम्बन्धित सडक योजना कार्यालयले साविकका गाविसहरूलाई पत्रचार गरी जानकारी गराएको थियो । सडकको ७ मिटरवाहेक अगाडि छाडेको साढे एघार मिटर जमिन अस्थायी रूपमा प्रयोग गर्न सकिनेबारे पनि अधिकांश स्पष्ट नभएको देखिन्छ ।

सालझन्डीचोकदेखि ४ किलोमिटर सडक राम्रो भए पनि बाँकी सडकको अवस्था दयनीय छ । गत आर्थिक वर्षमै ग्राभेल बिच्छ्याउने काम सम्पन्न भइसक्नुपर्नेमा हालसम्म कामको सुरुवात नै गरिएको छैन । स्थानीयहरू हिउँदमा धुलो र बर्खामा हिलोको तिक्तता व्यहोर्न विवश छन् ।

ज्ञातव्य छ, ढोरपाटन तथा आसपासको क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत उत्तिकै महत्वपूर्ण मानिन्छ । उत्तरगंगा, रुद्रताल, मैकुट अनि सुनदह यहाँका प्रसिद्ध धार्मिक स्थलहरू हुन् । ढोरपाटन सिकार आरक्ष कार्यालयबाट अगाडि एयरपोर्ट रहनुका साथै दाहिनेतर्फ प्रहरी चौकी र बायाँतर्फ तिब्बतियन शरणार्थी बसोबास गर्दै आइरहेका छन् । यसरी, भविष्यमा नेपाललाई चीनसम्म जोड्ने अभिप्रायका साथ सुरुवात गरिएको सडकमा अपेक्षाकृत काम नभई सामान्य बहानामा अलपत्र पारिनुलाई थप रहस्यमयी दृष्टिबाट हेर्न थालिएको छ ।