नुवाकोटमा पुग्यो मतपत्र

नुवाकोटमा पुग्यो मतपत्र


आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा आवश्यक मतपत्र जिल्ला आइपुगेको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने ६५ प्रकारका सामग्रीमध्ये जिल्लामा खरिद गर्नुपर्नेबाहेक आयोगबाट पठाउनेमध्ये मुख्य मानिएको मतपत्र बुधबार जिल्ला आइपुगेको हो । नुवाकोटमा कायम रहेका मतदाता संख्याभन्दा बढी हुनेगरी मतपत्र जिल्लामा आएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ क्षेत्र नं १ का लागि एक लाख १९ हजार, प्रदेश सभातर्फ (क) का लागि ५९ हजार र (ख) का लागी ६० हजार थान मतपत्र आएको छ ।

यस्तै, समानुपातिकतर्फ एक लाख १९ हजार मतपत्र आएको क्षेत्र नं १ का निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए ।

क्षेत्र नं २ का लागि प्रत्यक्षतर्फ एक लाख १६ हजार मतपत्र जिल्ला आइपुगेको छ । प्रदेश सभातर्फ (क) र (ख) का लागि समान ५८-५८ हजार थान मतपत्र आएको छ । २ नंं क्षेत्रको समानुपातिकतर्फ एकलाख १६ हजार थान मतपत्र आएको मुख्य निर्वाचन अधिकृत शाहले जानकारी दिए ।

मतपत्र नेपाली सेनाको सुरक्षा घेरामा ल्याएर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको छ । राससका अनुसार नुवाकोटमा कुल मतदाता दुई लाख आठ हजार १९१ रहेका छन् ।