धेरै ठूला नेता असुरक्षित !

धेरै ठूला नेता असुरक्षित !


मुलुकमा निर्वाचनको माहोल देखिए पनि घोषित मितिमै चुनाव हुने कुरामा अझै आशङ्का छ । राजनीतिक वातावरण र मौसम प्रतिकूलता कुनै पनि कारणले चुनावको मिति सर्न सक्ने आशङ्का गरिएको छ । तर, अप्रत्यासित घटनालाई पन्छाएर हेर्ने हो भने घोषित मितिमा निर्वाचन सम्पन्न हुनेमा शङ्का गर्नुपर्ने देखिँदैन ।

आगामी मङ्सिर १० र २१ गते संसदीय निर्वाचन दुई चरणमा हुँदै छ । यो निर्वाचनमा ठूला पार्टीका ठूला नेताहरू बढी जोखिममा देखिएका छन् । मुलुकका विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतका नेताहरू असुरक्षित देखिएका छन् । विगतका निर्वाचनमा डडेल्धुराबाट लगातार जित्दै आउनुभएका शेरबहादुर देउवा यसपटक पहिलाझैँ सुरक्षित हुनुहुन्न । जिल्लामा काङ्ग्रेसीहरूबीचको असन्तुष्टि आगोझैँ सल्किएको छ । जे–जस्ता असन्तुष्टिहरू भए पनि डडेल्धुरामा खुलेर यसअघि देउवाको आलोचना गरिँदैनथ्यो । तर, काङ्ग्रेसको जिल्ला निर्वाचनपछि जिल्लामा काङ्ग्रेसीहरूले खुलेरै उहाँको विरोध गर्न थालेका छन् । शेरबहादुर मात्र होइन, उहाँकी पत्नी आरजु पनि जिल्लामा अहिले त्यत्तिकै आलोचित हुनुहुन्छ ।

काठमाडौं क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएका एमाले नेता माधव नेपाललाई यसपटक जित्न निकै गाह्रो छ । संविधानसभाको निर्वाचनका बेला रौतहट र काठमाडौं दुवैबाट निर्वाचित भएपछि आफू निर्वाचित भएको काठमाडौं क्षेत्र नं. २ छोडेर रौतहट रोजेका कारण स्थानीय मतदाता निकै रुष्ट छन् । अहिले स्थानीय निर्वाचनमा रौतहटमा एमाले पछाडि परेपछि माधवले काठमाडौं रोजेको भन्ने उनीहरूलाई लागेको छ । साथै क्षेत्र नं. २ मा विगतमा विजयी दीपक कुइँकेलको प्रभाव यथावत् रहेका कारणले पनि नेपाललाई अप्ठ्यारो छ । यता आफ्नै पार्टीमा पनि उहाँलाई सहयोगको अभाव छ ।

प्रचण्डको पराजयका बारेमा आँकलन गर्न सकिने प्रमुख कुरा चितवन–३ माओवादीको पकड बलियो भएको क्षेत्र होइन । मओवादीले बर्बरतापूर्ण अपराध गरेको जिल्लाका रूपमा चितवनलाई लिइन्छ । मेयरको निर्वाचनमा भएको गठबन्धन, त्यतिबेला प्रचण्डले गर्नुभएको भाषण र अहिलेको अवस्थाले पनि उहाँ कुनै पनि बेला जे पनि गर्न सक्ने मान्छेका रूपमा चिनिनुभएको छ । छोटो समयमै भएका उतारचढावले उहाँको विश्वसनीयतामाथि प्रश्न उठाइएको छ । मेयरका उम्मेदवार देवी ज्ञवालीसँगको फोटो सेसनले पनि स्थानीयमा उहाँप्रति चिडचिडाहट पैदा गरेको छ । यता, राप्रपाका उम्मेदवार विक्रम पाण्डे बलियो उम्मेदवार हुनुहुन्छ । स्थानीय भएका कारणले पनि प्रचण्डलाई भन्दा विक्रमलाई मतदाताहरूको विश्वास बढी छ । विक्रम चितवनमा स्थानीयबीच लोकप्रिय हुनुहुन्छ । प्रचण्डलाई सेखी झार्न पनि काङ्ग्रेसको एकमुष्ट भोट यसपटक उहाँलाई जानेछ ।

झापाका कृष्ण सिटौलालाई यसपटक चुनाव जित्न धेरै गाह्रो छ । समानुपातिकमा परेका सिटौलाले जबर्जस्ती चुनाव लड्ने निर्णय गर्नुभएको हो । सिटौलालाई चुनाव जित्न गाह्रो पर्नुमा उहाँका प्रतिद्वन्द्वी राजेन्द्र लिङ्देन नै प्रमुख हुन् । वाम गठबन्धनको साथ पाएका लिङ्देन जिल्लामा लोकप्रिय हुनुहुन्छ । राप्रपा नेपाललाई वाम गठबन्धनले समर्थन गरेको झापा क्षेत्र नं ३ एक मात्र चुनावी क्षेत्र हो । यता, नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहलाई काठमाडांै क्षेत्र नं. १ मा यसपल्ट निकै कठिन पर्ने देखिँदै छ । विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रसँग उहाँको प्रतिस्पर्धा हुने देखिन्छ । रवीन्द्रले काङ्ग्रेसको भोट काट्ने त निश्चित छ नै, वाम गठबन्धनले कमजोर उम्मेदवार उठाएबाट कम्युनिस्टको भोट पनि अन्तिममा रवीन्द्रलाई नै जाने सम्भावना देखिन्छ । यो रणनीतिमा वाम गठबन्धनको उद्देश्य रवीन्द्रलाई जिताउनेभन्दा जसरी भए पनि काङ्ग्रेसलाई हराउने हुने स्पष्ट छ । काठमाडौंबाट प्रकाशमानजस्तो पृष्ठभूमिसहितको नेतालाई हराउँदा कम्युनिस्टहरूको ठूलो जित हुनेछ । वाम गठबन्धन सोही रणनीतिमा रहेको देखिन्छ ।

गोरखा क्षेत्र नं. २ मा चुनावी मैदानमा रहेका वाम नेताहरू नारायणकाजी श्रेष्ठ र डा. बाबुराम भट्टराईबीच कडा प्रतिस्पर्धा हुनेछ । नारायणकाजीलाई जित्नका लागि काङ्ग्रेसको मत निर्णायक र डा. भट्टराईलाई जित्नका लागि वाम मत निर्णायक हुनेछ । बाबुराम प्रधानमन्त्री हुँदा जिल्ला गइरहने भएका कारण उनको लोकप्रियता घटेको छैन भने नारायणकाजीलाई पनि जिल्लावासीहरूले संसद्मा पठाउनैपर्ने नेताका रूपमा चित्रण गर्ने गरेका छन् । यी दुई नेताबीच मतको अन्तर अत्यन्त झिनो रहनेछ ।

जोखिममा रहेका नेताहरूमा रामशरण महत र अर्जुननरसिंह केसीलाई पनि लिइएको छ । डा. रामशरण महत प्रभावका दृष्टिकोणले त जोखिममा हुनुहुन्न, तर गत स्थानीय निर्वाचनमा काङ्ग्रेसले पाएको मतको तुलना गर्दाचाहिँ उहाँ पनि जोखिममा हुनुहुन्छ । नेपाली काङ्ग्रेसकै अर्का नेता अर्जुननरसिंह केसीले स्थानीय स्तरमा लोकप्रिय मानिएका एमाले नेतालाई टक्कर दिन सक्नेमा धेरैलाई विश्वास छैन । यसैगरी धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवारी दिनुभएका विमलेन्द्र निधि पनि जोखिममुक्त हुनुहुन्न । राजपाका राजेन्द्र महतो निधिका प्रतिद्वन्द्वी हुनुहुन्छ । नेपाली काङ्ग्रेस र निधिलाई पराजित बनाउनका लागि वाम गठबन्धनले महतोलाई समर्थन गर्ने सम्भावना छ ।