भूकम्पपीडितलाई यही आर्थिक वर्षमा छानो दिने प्राधिकरणको लक्ष्य

भूकम्पपीडितलाई यही आर्थिक वर्षमा छानो दिने प्राधिकरणको लक्ष्य


–छविलाल बगाले
भुकम्प गएको ३० महिना बितिसक्दा पनि भूकम्पपीडित नागरिकहरुले अझैसम्म पनि छानो पाउन सकेका छैन् । राज्यको ढिलासुस्ती र राजनैतिक लुछाचुँडीको कारण भूकम्पपीडितले यतिका समय बितिसक्दा पनि छानो पाउन नसकेका हुन् ।

तीन वर्षको बर्खा र २ वर्षको जाडो टहरामूनि नै बिताएका भूकम्पपीडितहरु अझै सरकारको बाटो हेरेर बसिरहेका छन् त कतिपयले आफैं पनि आवास निर्माण गरिसकेका छन् ।

तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म ७० हजार भुकम्पपीडितले छानो पाइसकेको दावी गरेको छ । यस्तै, सभालाख भुकम्पपीडितले दोस्रो किस्ताको लागि दावी गरेको, २१ हजारले आवेदन दिई प्रमाणीकरण समेत भइसकेको र ११ हजार आवास गैह्रसरकारी संघसंस्थाहरुले निर्माण गरिरहेको प्राधिकरणका सहप्रवक्ता डा. भिष्मकुमार भुषालले जानकारी दिए ।

प्राधिकरणले यसै आर्थिक बर्षको मसान्तभित्रै सबै जिल्लाका भूकम्पपीडितलाई छानासहितको आवास दिने गरी समय तालिका समेत सार्बजनिक गरेको जनाएको छ । प्राधिकरणका अनुसार गत पौष मसान्तसम्म प्रथम किस्ता प्राप्त गरेका लाभग्राहीले आगामी पौष मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने, गत असार मसान्तसम्म प्रथम किस्ता प्राप्त गरेका लाभग्राहीले आगामी चैत मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने र आगामी पुस मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीले आगामी जेठ मसान्तभित्र तेस्रो किस्ता लिनुपर्ने जनाएको छ ।

यस्तै प्राधिकरणले आगामी चैत मसान्तभित्र दोस्रो किस्ता पाएका लाभग्राहीले आगामी असार मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्ने तालिका तयार बनाएर काम अघि बढाएको छ ।

प्राधिकरणले कामलाई छिटो र प्रभावकारी बनाउन जनशक्ति थप्ने, भूकम्पपिडितलाई सेवा सुविधा बढाउने र उक्त सुविधा प्राप्त गर्ने कार्यविधीलाई सरलीकरण बनाउने सहप्रवक्ता भुषाले बताउँछन् ।

प्राधिकरणले भूकम्पपिडितहरुको भुकम्प प्रतिरोधी नयाँ घरमा सर्ने सपना छिटै पुरा गर्नको लागि १७ जिल्लामा प्राविधिक पठाउने, ठाउँ-ठाउँमा डकर्मीको तालिम दिने र भुक्तानीको प्रक्रियालाई छोटो बनाउने तयारी गरिरहेको छ ।

साथसाथै देशले भुकम्पपछि लिएको पुनर्निर्माणको सपना छिटोभन्दा छिटो पुरा गर्ने लक्ष्य लिएको छ ।