श्री ३ चन्द्रलाई सम्राट् एडवर्ड सप्तमले सिभिलियन जी.सी.बी. ‘Civilian – Grand Cross of the Order of the Bath’ नामक पदक प्रदान गर्ने भएका थिए । श्री ३ चन्द्रले ‘सिभिलियन जी.सी.बी.’ को सट्टा ‘मिलिटरी जी.सी.बी.’को माग गरे । सम्राट्ले पार्लियामेन्ट (Parliyament) मा सो ‘मिलिटरी जी.सी.बी.’ दिनको खातिर प्रस्ताव राखे, तर पार्लियामेन्टले सो ‘मिलिटरी जी.सी.बी.’ दिन मञ्जुर गरेन । सम्राट्ले त्यसो भए विशेष हीराजडित ‘सिभिलियन जी.सी.बी.’ दिन पार्लियामेन्टको स्वीकृति पुनः चाहँदा पार्लियामेन्टले सो कुराको स्वीकृति दियो, तर सो हीराको मूल्य दिन असमर्थता जनाई सम्राट्ले सो हीराको मूल्य आफैँले व्यहोर्ने कबुल गर्नुपर्छ भनेकाले सम्राट्ले सो प्रस्ताव मञ्जुर गरे । त्यसपछि वि.सं. १९६५ साउन ६ गते, तदनुसार जुलाई २१ ता. १९०८ ई. का दिन सम्राट्ले श्री ३ चन्द्रलाई विशेष समारोहको तर्जुमा गरी ‘बकिड्घम प्यालेस’मै विशेष हीरा जडिएको ‘सिभिलियन जी.सी.बी.’ नामक पदक प्रदान गरे । साथै पुरानो ‘लि–एन–फिल्ड राइफल २०००’ नाल नेपाल सरकारलाई प्रदान गरी श्री ३ चन्द्रको सम्मान गरे ।
नेपाली प्रतिनिधिहरू लन्डनमै हुँदा सम्राट्को निमन्त्रणामा फ्रान्सको प्रेसिडेन्ट मोसिएर फेलियर लन्डन आए । निजको सम्मानार्थ लन्डनको ‘अपेरा’मा आमन्त्रित थिए । त्यस निमन्त्रणामा आमन्त्रित सरकारी कर्मचारी र विशेष आमन्त्रित व्यक्तिहरूसहित विशिष्ट भारदारसमेत आ–आफ्ना औपचारिक पोसाकमा र आमन्त्रित महिलाहरूले सकेसम्म गहना लगाई उपस्थित हुन निमन्त्रणामा अनुरोध गरिएको थियो । श्री ३ चन्द्रले काठमाडौंबाट युरोपतर्फ जाँदा स्व. श्री ३ वीरको ठूलो हीरा (बयासी क्यारेक्ट) स्व. गेहेन्द्रशमशेरको कान्छी रानीसँग मागी पगरीको बीचमा जडान गरी लगेका थिए, उनी सोही पगरी र जङ्गी पोसाक लगाई निमन्त्रणामा गए । अरू उच्च नेपाली प्रतिनिधि पनि साथै हुमाउँ – कल्की–पगरी र जङ्गी पोसाकमै नाच हेर्न ‘अपेरा’मा गए ।
नेपाली प्रतिनिधिको सम्मानार्थ अपेरामा माथि ग्यालरी (Gallery Box) मै एक ‘बक्स’ दिइएको थियो । त्यो नाच हेर्न आएका आमन्त्रित महिला वर्गहरूले लगाएका जवाहरातजडित गहनाहरूको रौनकदार दृश्य नेपाली प्रतिनिधिहरूले देखी दङ्ग परे । कुनै–कुनै महिलाले त तालुदेखि पाइतालासम्म पनि जवाहरात लगाई आएको दृश्य देखे । अन्य दर्शकहरूले पनि हुमाउँ, कल्की, पगरी र जङ्गी पोसाकसमेत लगाएका नेपाली प्रतिनिधिप्रति नै नियालेर हेरिरहेकी देखे ।
श्री ३ चन्द्रले पनि लन्डनमा फ्रान्सका प्रेसिडेन्ट मोसियर फेलियरसँग अनौपचारिक भेटवार्ता गरे । त्यस अवसरमा चन्द्रले लन्डनमा चाँडै फ्रान्स आउनको निमित्त स्वागत व्यक्त गरे । श्री ३ चन्द्रले पनि लन्डनमा फ्रान्सका प्रेसिडेन्ट मोसियर फेलियरसँग अनौपचारिक भेटवार्ता गरे । त्यस अवसरमा चन्द्रले लन्डनमा चाँडै फ्रान्सको औपचारिक भ्रमण गर्ने इच्छा व्यक्त गरे । प्रेसिडेन्टले पनि उनलाई फ्रान्स आउनको निमित्त स्वागत व्यक्त गरे ।
लन्डनमा श्री ३ चन्द्रले आफ्नो शरीरको राम्रो परीक्षण गराई उपचारसमेत गराए । त्यहाँका अनेक कल–कारखानाको निरीक्षण गर्दै इङ्ग्ल्यान्डका विभिन्न सहरहरूको भ्रमण सकेर वि.सं. १९६५ साउन ८ गते रोज ४, तदनुसार जुलाई २३ ता. १९०८ ई. का दिन नेपाली प्रतिनिधि सोही दिन साँझ पेरिस पुगे । फ्रान्सको भ्रमण अनौपचारिक भए तापनि त्यहाँको सरकारका तर्फबाट सुरक्षाको राम्रो प्रबन्ध गरिएको थियो । पेरिसमा जम्मा आठ दिन मात्र बसेर घुमफिर गरी नेपाली प्रतिनिधि वि.सं. १९६५ साउन १५ गते, तदनुसार जुलाई ३० ता. १९०८ ई. का दिन नेपालतर्फ फर्के । त्यहाँबाट स्वीट्जरल्यान्ड, इटालीको रोम र नेपुल्स, इजिप्ट इत्यादि ठाउँमा पुगी, जहाजैद्वारा वि.सं. १९६५ भदौ ३ गते, तदनुसार अगस्त १८ ता. १९०८ ई. का दिन नेपाली प्रतिनिधि भारतको बम्बई सहरमा आइपुगे । त्यहाँबाट यिनीहरू रामेश्वरतर्पm लागे । रामेश्वरमा सबैले ‘पतिया’ लिए ।
सर्वप्रथम श्री ३ चन्द्रले अँगालो हाली ‘पतिया’ लिए । त्यसपछि क्रमशः जुद्धशमशेरले पतिया लिए । त्यसपछि रुद्रशमशेरले पतिया लिइसकेपछि श्री रामेश्वरलाई अङ्गालो हाली ‘आजैदेखि मैले मदिरापान गरेमा रामेश्वरको रगत पिएसरह सम्झनेछु’ भनी प्रण गरे । सो प्रण गरेको सुनी श्री ३ चन्द्र खुसी हुनुपर्नेमा उल्टै रुद्रशमशेरलाई नचाहिँदो प्रण गर्ने भनी हप्काए । श्री ३ चन्द्रको भित्री मनसाय मदिरा पान गरी उ.क.ज. रुद्रशमशेरको पनि अन्त्य होस् भन्ने थियो होला ।
हुन पनि रुद्रशमशेर अति मदिरापान गर्दथे । आफ्नै बुबा स्व. श्री ३ वीरकै समयदेखि श्री ५ महाराजाधिराज पृथ्वी, दाजु गेहेन्द्रशमशेर र रुद्रशमशेर यी तीनजनालाई दिनदिनै सुरुमा १ बोतल ‘स्कच ह्विस्की’ ठेक्का नै गरिएको थियो ।
(पुरुषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’बाट)
प्रतिक्रिया