नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालालाई यतिबेला सहमतिको सरकारको प्रधानमन्त्री बनेर जटिलताबाट निकास दिन दबाब पनै थालेको छ । तर, उहाँले अहिलेसम्म आफू स्वयम्ले भने प्रधानमन्त्री बन्ने औपचारिक वा अनौपचारिक कुनै पनि रूपमा इच्छा देखाउनुभएको छैन । नेपाली राजनीतिमा त्यागी, पदको लोभ नगर्ने सन्तनेताको रूपमा परिचित सभापति कोइरालाले पछिल्लो समयमा चौतर्फी दबाबपछि केन्द्रीय समितिको निर्णय मान्ने बताउन थाल्नुभएको छ । उहाँसँग घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानी प्रधानमन्त्रीले निर्वाचितबाहेक अरू कसैलाई पद नछाड्ने भन्नुभएको छ, अब कसरी नयाँ सरकार बन्छ त ?
कसले कहाँ के बोले म जान्दिनँ । त्यस्ता भनाइसँग मेरो कुनै चासो पनि छैन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा मुलुकलाई निकास दिन अहिलेको अनिवार्य सर्त हो । उहाँले तत्काल पद छाडेर सहमतिको सरकार निर्माणको वातावरण निर्माण गर्नुपर्छ । असंवैधानिक रूपमा उहाँजस्तो व्यक्तिलाई पदमा टाँसिरहेर बस्न सुहाउँदैन ।
प्रधानमन्त्रीले छोड्दिन भन्नुभएको छ, कसरी हटाउनुहुन्छ ?
यस्तो कुरा जान्दिनँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पद छोड्नैपर्छ । यसको विकल्प अहिले सोच्नुहुन्न । यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुन्छ । यस्तो कुरा सोच्नु पनि हुँदैन । प्रधानमन्त्रीले पद छोड्नुपर्छ । मुलुकलाई निकास दिनुपर्छ ।
प्रधानमन्त्रीले आफैं नछोडे के गर्नुहुन्छ ?
यस्तो ‘प्रोभोक’ गर्ने प्रश्न नगर्नुस् । म, काङ्ग्रेस र अरू दलहरू चाहन्छन्, प्रधानमन्त्रीले तत्काल पद त्याग गरेर सहमतिको वातावरण निर्माण गर्नुपर्छ । प्रधानमन्त्री भट्टराईलाई स्वयम् राष्ट्रपतिले नै कामचलाउ भनिसक्नुभएको छ । कामचलाउ सरकारलाई धेरै दिन मुलुकमा राख्नु दुर्भाग्यपूर्ण हुन्छ । नेपाली काङ्ग्रेसको बटमलाइन पनि यही हो । योभन्दा अरू विषयमा सहमति बन्ने सम्भावना पनि अहिले मुलुकमा छैन ।
प्रधानमन्त्रीको सोमबारको अभिव्यक्तिलाई कसरी लिनुभएको छ ?
म कसले के बोले भन्ने कुराको पछि लाग्दिनँ । म संस्थागत निर्णयमा हिँड्ने मान्छे, संस्थागत कुरालाई मात्रै महत्वव दिन्छु । यो कुरा संस्थागत रूपमा आए त्यसबेला भनौँला । दलहरूबीच पहिला नै पाँचबुँदे सहमति भइसकेको अवस्थामा प्रधानमन्त्रीले संविधानसभाको अवसान गराएर मुलुकलाई अन्योलमा फसाउनुभयो, अब उहाँले राजीनामा दिनुको विकल्प छैन । बोलेर केही हुँदैन ।
सबैको दृष्टि राष्ट्रपतितिर देखिन्छ, उहाँले निकासका लागि के गर्नुपर्छ ?
राष्ट्रपतिले के गर्नुहुन्छ भनेर उहाँको कुरा मैले गर्ने होइन । उहाँ संविधानको संरक्षक हुुनुहुन्छ । मुलुकलाई निकास दिन के गर्नुपर्छ, त्यो उहाँले नै गर्ने हो र गर्नु पनि होला । उहाँले पनि छलफल गरिरहनुभएको छ । छलफल गरेर कुनै निकास खोज्नुहोला नै । म उहाँको कुरा गरेर विवादमा तान्न चाहन्न ।
सहमतिको सरकार कसको नेतृत्वमा बनाउने नि ?
सबै राजनीतिक शक्तिहरू मिलेर अघि बढ्नुपर्छ । पाँचबुँदे सहमतिअनुसार नै काङ्ग्रेसले आगामी सरकारको नेतृत्व गर्नुपर्छ । काङ्ग्रेसकै नेतृत्वमै सरकार बन्नुपर्छ । काङ्ग्रेसको नेतृत्वले नै अहिले मुलुकलाई निकास र मेलमिलापको राजनीति अगाडि बढाउन सक्छ ।
त्यसो भए काङ्ग्रेसबाट प्रधानमन्त्री को होला ?
को प्रधानमन्त्री हुने भन्ने कुरा बाहिर गर्ने कुरा होइन । काङ्ग्रेसले सहमतिबाटै प्रधानमन्त्रीको चयन गर्छ ।
तपार्इं, शेरबहादुर देउवा र रामचन्द्र पौडेलमध्ये को हुन्छ त ?
सहमतिमा जो पनि हुनसक्छ । यो कुराको निर्णय केन्द्रीय कार्यसमितिले सहमतिमा गर्नेछ । अहिले संसदीय दल नरहेको बेला केन्द्रीय समिति नै भावी प्रधानमन्त्री चुन्ने एकमात्र निकाय हो । साथीहरूसँग छलफल हुन्छ र सहमति, लोकतान्त्रिक विधिबाट काङ्ग्रेसले प्रधानमन्त्रीको साझा उम्मेदवार तय गर्छ ।
तपाईं नबन्ने ?
मेरा लागि पद भन्ने कुरा गौण हो । अरूले पदको लोभ गर्लान्, म पदको लोभ राख्दिनँ । मैले कहिले पनि पदका लागि महत्वव दिएको छैन । मेरा लागि लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता र मानवअधिकार नै सबैभन्दा महत्ववपूर्ण कुरा हो ।
तपाईंको नाम अगाडि सारियो भने नि ?
त्यो कुरा त्यहीबेला सोचौँला । मैले अहिलेसम्म प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेको छैन ।
प्रचण्ड र तपाईंबीच त सहमति भएको थियो रे नि ?
क–कसले बाहिर के भनेका छन् त्यसको कुनै अर्थ रहँदैन । संस्थागत निर्णय गरेपछि यो कुरा गरौँला ।
अब काङ्ग्रेस एक भएकै हो त ?
हो, काङ्ग्रेस एक भएकै हो । पार्टीभित्र सामान्य मतभेद हुनु स्वाभाविक हो । यसलाई लिएर पार्टी एक थिएन भन्नु उपयुक्त हुँदैन । काङ्ग्रेस लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शबाट चल्ने पार्टी हो । विवादहरू आउँछन् । र, प्रक्रियाबाट समाधानमा पनि पुग्छन् । अब काङ्ग्रेस सङ्गठित भएर जनताको माझमा जान्छ । लोकतन्त्र र जनताको अधिकारको पक्षमा जागरण गराउँछ ।
|Src-ghatanarabichgar
प्रतिक्रिया