रुद्रशमशेरले छोराहरूसँग भने– ‘मलाई रक्तपात गर्नु छैन’

रुद्रशमशेरले छोराहरूसँग भने– ‘मलाई रक्तपात गर्नु छैन’


मुख्तियार रुद्रशमशेर ज्यादै सोझा साथै धर्मपरायण थिए । राजकाजसम्बन्धी जालझेल कपटको साथै कूटनीतिक चाल चल्न सक्ने क्षमता उनमा कत्ति थिएन । खासगरी उनी श्री ३ जुद्धप्रति ज्यादै विश्वास र आस्था राख्दथे । उनका छोराहरू ईश्वर, गोपाल, श्याम र धैर्यशमशेरहरूले बारम्बार ‘जुद्धशमशेरले हामीलाई निष्कासन गर्ने तर्जुमा गर्दै छन् भन्ने कुरा हाम्रा गुप्तचरहरूबाट सूचना आइरहेछ । कुनै एकाध गुप्तचर गलत हुन सक्छ, तर सबैतर्फबाट यही सूचना पाउनुको कारण कुरा सत्य हो’ भनी सूचना गर्दा पनि किन हो रुद्रशमशेर सदैव ‘जुद्धशमशेरले मउपर यस्तो अनर्थ गर्दैन’ भन्दथे । यस्तै कमजोरी उनमा थियो ।
यसै १९९० साल चैत १ गते घोडेजात्राको दिन श्री ३ जुद्धले मुख्तियार रुद्रशमशेरलाई ‘काहिँला चैत ५ गते सञ्चयकोष विषयमा मिटिङ छ, त्यस दिन २ कम्पनी सेना हातहतियारसहित सिंहदरबार पठाऊ’ भनी आदेश गरे ।

अर्कोतर्फ सोही दिन अर्थात् घोडेजात्राकै दिन टुँडिखेलको खरीको बोटको चौतारामा प्रचण्डशमशेर र मानशमशेर (जुद्धकै छोरा)ले समेत गुप्त तरिकाबाट ईश्वरशमशेरलाई ‘सञ्चयकोष विषयको मिटिङ भन्ने बहाना मात्र हो, सो दिन काहिँला दाजी (रुद्र)सहित सबैलाई काठमाडौंबाट निष्कासन गर्ने तर्जुमा गरेका छन्’ भनी सूचना गरे ।

खासगरी प्रचण्डले त ईश्वरशमशेरलाई उपरोक्त कुरा लिखित रूपमा दिई साथै गर्नुपर्ने कार्य गर भनी रायसमेत दिएका थिए ।

श्री ३ जुद्धशमशेरले चैत ५ गतेका दिन हात हतियारसहित २ कम्पनी सेनाको माग गर्नु, प्रचण्डशमशेर र मानशमशेरहरूले सूचना गर्नु आदि सबै कारणबाट अब रुद्रशमशेरलाई पनि निष्कासन गर्न लागे भन्ने कुरामा पूरा विश्वास प¥यो ।

निष्कासित हुनेहरूमा तेजशमशेर, रामशमशेर, धनशमशेर, नरराजशमशेर, राजशमशेर, मेघराजशमशेर, इन्दुशमशेर, माधवशमशेर, मनशमशेर, सत्यशमशेर सबै काठमाडौंबाहिर कोही औषधोपचारका लागि भारततर्फ गएका थिए भने पू.क.ज. तेजशमशेरका दोस्रा छोरा ले.क. यज्ञराजशमशेरको मृत्यु भएको जम्मा ५ दिन मात्र भएको थियो अर्थात् ‘जुठो’ परेको थियो । उपरोक्त व्यक्तिहरू तत्काल कोही बडाहाकिम भई गौंडा–गोश्वारातर्फ थिए तथा कोही दौडाहाका निमित्त तराई–पहाडतर्फ ठाउँठाउँमा खटिएर गएका थिए ।

प्रधानसेनापति रुद्रशमशेरका चार भाइ छोरा भई निष्कासन विषयमा सरसल्लाह गरी ‘मरता तो क्या न करता’ भनी विरोध गर्न तयार भई तत्काल काठमाडौंमा उपस्थित निष्कासित हुनेहरू हिरण्यशमशेर, प्रतापशमशेर, गोविन्दशमशेर, सुवर्णशमशेर र महावीरशमशेरहरूलाई सूचना गरी भेला गराई सरसल्लाह गरी विरोध गर्ने सल्लाह आपसमा गरी आफ्ना बुबा रुद्रशमशेरसँग सो कुरा भन्दा उनले वि.सं. १९५८ मा भायसराय लर्ड कर्जनले ‘अबउप्रान्त राणाहरूमा रक्तपात (द्ययियम कजभम) भएमा नेपाललाई भारतमा सम्मिलित गराइने’ भन्ने कुराको साथै वि.सं. १९५९ मा भएको ‘धर्मपत्र’को समेत स्मरण गराई रुद्रशमशेरले आफ्ना छोराहरूलाई सम्झाइबुझाइ भने कि, ‘मलाई रक्तपात गर्नु छैन, हामीसँग जम्मा सय–सवा सय नाल बन्दुक छन् ।

जुद्धशमशेरकहाँ (मेसिनगन, लुइसगन, ब्रेनगन, स्टेनगन, टमिगन र हजारौँ नाल सर्ट–इन–फिल्ड) राइफलहरूको साथै प्रशस्त मात्रामा गोलीगठ्ठासमेत सिंहदरबारमा छन्, तसर्थ हामी कुनै अवस्थामा पनि विजयी हुन सक्दैनौँ । मलाई राम्रोसँग थाहा छ हाल जुद्धशमशेरले आँटेपछि हामी कसैको केही लाग्दैन, हामी केही गर्न सक्दैनौँ । कल्याण यसैमा छ कि हामीले कुनै अप्रिय घटना नगरौँ । अहिले हामी निर्दोष भई जानु परिरहेछ, पछि दागी र बागी भएर जानुपरेमा कलङ्क लाग्नेछ’ भनी आफ्ना चारै जवान छोरालाई सम्झाइबुझाइ अप्रिय घटना गर्ने छैनौँ भनी शपथसमेत दिलाई विरोध गर्नबाट रोके ।

(पुरुषोत्तम शमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’बाट)