एमालेद्वारा माओवादीलाई मित्रशक्तिका रूपमा स्वीकार : कुनै पनि बेला जे पनि हुन सक्ने

एमालेद्वारा माओवादीलाई मित्रशक्तिका रूपमा स्वीकार : कुनै पनि बेला जे पनि हुन सक्ने


काठमाडौं । स्थानीय चुनावको तिथि नजिकिने क्रमसँगै नेकपा माओवादको हिंसात्मक गतिविधि निकै बढेर गएको छ । सरकार माओवादी क्षेत्रमा सेना परिचालन गरेपछि सम्पूर्ण सुरक्षा प्राप्त हुने आश्वासन बाँडेर बसिरहेको देखिए पनि माओवादीले काङ्ग्रेसलाई प्रमुख लक्ष्य बनाएर प्रहार गरेकाले सञ्चो मानेर बसेको आशङ्का गर्न थालिएको छ । सरकार एकातिर सुरक्षाको बन्दोबस्त गरेको दाबी गरिरहेको छ भने अर्कोतिर काङग्रेस र यदाकदा राप्रपाका कार्यकर्ता पनि हिंसात्मक कारबाहीको सिकार भइरहेका छन् । बितेका दुई साताभित्र माओवादीले आफ्नो गतिविधिमा विस्तार गरेर राष्ट्रव्यापी तुल्याएको छ । यसरी माओवादी गतिविधि बढ्नुका पछाडि सत्तारुढ एमालेको पनि अप्रत्यक्ष साथ रहेको रहस्यहरू बिस्तारै खुल्न थालेका छन् ।

माओवादीहरूले पश्चिम नेपालको रोल्पा, प्युठान, रुकुम, लमजुङ आदि जिल्लामा हत्या, लुट, अपहरण र विस्फोटनका घटनामा अरू तीव्रता ल्याएका छन् । हिजो साँझसम्म प्राप्त जानकारीअनुसार सिन्धुलीको महादेवस्थान गाविसमा माओवादीले कसैलाई पनि उम्मेदवारी दर्ता गर्न दिएनन् भने कपिलाकोट गाविसमा जम्मा सातजनाको मात्र उम्मेदवारी परेको छ । रोल्पाको मिजिङमा सोमबार राति ६ पटकसम्म विस्फोटनको घटना भएको छ । छरिवाङमा माओवादीको गोली लागेका १७ वर्षीय युवक भीमसेन थापालाई हिजो उपचारका लागि हेलिकोप्टरद्वारा काठमाडौं ल्याइएको छ ।

प्युठानको ढाकाक्वाडी गाविसमा गएराति तीन–चार राउन्ड फायर गर्नुको साथै जिलेटिनसमेत पड्काइएको छ । प्युठानको खैरा, बेलवास र तोरवाङ क्षेत्रमा माइकद्वारा नै माओवादीहरूले चुनाव बहिष्कार गर्न जनतालाई आह्वान गरिरहेका छन् । चितवनको गीतानगर, पटिहानी, फूलबारी, दारेचोक आदि गाउँहरूमा आमसभा गरेर बहिष्कारको पक्षमा जनतालाई उनीहरूले आह्वान गरिरहेका छन् । बाराका विभिन्न गाउँहरूमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर उनीहरू आफ्नो चुनाव प्रचारप्रचार गरिरहेका छन् ।

झापाको घैलाडुब्बा, चारपाने र काँकडभिट्टामा पर्चाबाजी गर्नुको साथै बहिष्कार पक्षमा भित्तेलेखन भइरहेका छन् । सिन्धुपाल्चोकको स्याउलेमा उम्मेदवार बनेका व्यक्तिहरूलाई घर–घरमा धम्कीपत्र पठाएर उम्मेदवारी फिर्ता लिन दबाब दिइएको छ । दोलखाको भिमेश्वर नगरपालिकामा एउटा कुकुर मारेर रुखमा झुन्ड्याई त्यसमा राजतन्त्र मुर्दावादको नारा लेखेर छोडिएको छ । काभ्रेको कात्तिके देउराली, पोखरीचौरी, गोठपानीचौरी, मादनकुडारी, पाँचखाल, पनौती, बनेपा, धुलिखेल आदि स्थानमा बहिष्कारको आह्वान गरिएको पर्चा छर्नुका साथै भित्तेलेखन र मसालजुलुस प्रदर्शनसमेत माओवादीहरूबाट भइरहेको छ ।

‘स्थानीय निर्वाचन बहिष्कार गर्दै नयाँ सत्ताको निर्माण गर्न अघि बढौँ’ शीर्षकका पर्चाहरू काभ्रेका गाउँ–गाउँमा छरिएका छन् । रोल्पाको कोर्चाबाङमा व्यापारी र धनाढ्य व्यक्तिहरूलाई धम्क्याएर पैसा जम्मा गर्ने काम पनि माओवादीहरूले गरिरहेका छन् । माओवादीहरूद्वारा मुलुकको विभिन्न भागमा प्रदर्शन गरिएको मसालजुलुसमा अत्यन्तै आक्रामक शैलीका नाराहरू लगाउने गरिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार ‘जसले चुनावमा भाग लिन्छ, उसको टाउको गिड्नेछौँ, जसको निधारमा रातो टीका उसको टाउको हाम्रो हातमा’ जस्ता नाराहरूलाई उनीहरूले आफ्नो मुख्य नारा बनाएका छन् । लमजुडको पिचौर, बेंसीसहर, गाउँसहर, भोटेओढार, भोर्लेटार, उदीपुर आदि गाउँहरूमा पनि माओवादीहरूबाट पर्चा छर्ने र भित्तेलेखन गर्ने काम भइरहेको जानकारी प्राप्त भएको छ । त्यसैगरी गोरखा, धादिङ र कास्कीका विभिन्न इलाकाहरूमा पनि माओवादीले भित्तेलेखन र पर्चा छर्ने काम गरेका छन् ।

यसरी मुलुकका विभिन्न भागमा माओवादी आतङ्क बढिरहेको सन्दर्भमा वर्तमान चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन सक्ने आशा सम्पूर्ण रूपमा मरेर गएको छ । यसबाट नेपाली काङ्ग्रेसलाई ठूलो धक्का पुग्न सक्ने अनुमान गरिएको छ । सरकारको रवैया हेर्दा चुनावको दिनसम्ममा माओवादी आतङ्क अरू बढेर जान सक्ने सम्भावना बढेको छ । यस स्थितिमा सरकारले न शान्तिसुरक्षा व्यवस्थालाई सुदृढ पार्न सकेको छ, न माओवादी गतिविधि नियन्त्रण गर्न ठोस पहल नै सुरु गरेको छ ।

सयौँ काङ्ग्रेसका कार्यकर्ता माओवादीको सिकार बन्दा पनि कानमा तेल हालेर बस्ने एमालेले रूकुममा आफ्नो एक कार्यकर्तालाई अपहरण गर्दा निकै ठूला स्वर मच्चाएको छ । उक्त घटनाको विरोध गर्दै विज्ञप्ति जारी गर्ने क्रममा एमाले केन्द्रीय नेतृत्वले माओवादीहरूलाई आफ्नो मित्रशक्तिको रूपमा उल्लेख गरेको छ । सोमबार जारी गरिएको उक्त विज्ञप्तिमा माओवादीलाई मित्रशक्ति भनी सम्बोधन गर्नुले एमालेको वास्तविक दुराशय के रहेछ भन्ने स्पष्ट भएको ठहर जानिफकारहरूले गरेका छन् ।

एक भरपर्दो सूत्रबाट थाहा भएअनुसार पश्चिम नेपालको रुकुम, सल्यान र रोल्पालाई माओवादीहरूले चुनावको दिनसम्ममा मुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिरहेका छन् ।

बितेका दुई–तीन दिनदेखि राजधानीका भित्ताहरूमा पनि माओवादीहरूले भित्ते नारा लेख्ने काम आरम्भ गरेका छन् । अचानक राजधानीमा माओवादी गतिविधि बढेपछि सोमबार राति प्रहरीले कोटेश्वरस्थित डा. बाबुराम भट्टराईको घरमा छापा मारी केही महत्वपूर्ण कागजात र डायरीहरू कब्जा गर्नुका साथै चारजना शङ्कास्पद व्यक्तिहरूलाई गिरफ्तार गरेको छ । सोही रात माओवादीसँग सम्बन्धित भनी आशङ्का गरिएका सुरेश आलेमगरको घरमा पनि प्रहरीले छापा मारेको छ ।
माओवादी गतिविधिको तीव्रतामाथि दृष्टिगत गर्दा कुनै पनि बेला कुनै पनि स्तरको अप्रिय घटना हुन सक्ने परिस्थिति देखिएको छ । कथंकदाचित माओवादीकै कारण सङ्कटकालीन स्थितिको घोषणा गरियो र पुनः मुलुकमा अधिनायकवादीहरूले पाइला टेके भने पनि अब आश्चर्य नमाने हुने भएको छ ।

(घटना र विचार, २०५४ जेठ १ गते बुधबार)