प्रचण्डका चार प्रस्ताव अस्वीकृत

प्रचण्डका चार प्रस्ताव अस्वीकृत


काठमाण्डौं । संविधानसभा विघटनपछि दोस्रोपटक मंगलबार साँझ माओवादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलले आ–आफ्ना पूर्वअडान र सर्त दोहो-याएका थिए। बैठकमा एमाओवादीका अध्यक्ष प्रचण्डले राजनीतिक संकट अन्त्यका लागि प्याकेजमै सहमति खोज्नुपर्ने भन्दै चार सूत्रीय प्रस्ताव पेस गरेकाथिए। यद्यपि प्रचण्डको प्रस्ताव कांग्रेस–एमालेले अस्वीकार गरेका छन्।
प्रचण्डको प्रस्तावमा संविधानका विवाद, संविधान जारी गर्ने प्रक्रिया तथा बजेट र राष्ट्रिय सहमतिको सरकारबारे एकमुष्ट सहमति गरेर अगाडि बढ्नुपर्ने उल्लेख छ। “प्रचण्डजीले प्याकेजमा सहमति गरेर मुलुकलाई निकास दिने प्रस्ताव गरेकाछन्”, बैठकमा सहभागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने– “कांग्रेस र एमालेले भने पहिला सरकारबारे सहमति गर्नुपर्ने अडान दोहो-याए, त्यसैले कुरा मिलेन।”
कांग्रेस–एमालेले राष्ट्रिय सरकारमा सहमति नभई अन्य विषयमा छलफल गर्न तयार नरहेको बताएपछि प्रचण्डले सरकारको मुद्दालाई प्राथमिकतामा नराख्न आग्रह गर्नुभएको महतोले बताए। “सरकारलाई प्राथमिकतामा नराखौं। संविधान, बजेट र सरकारबारे प्याकेजमै सहमति जुटाएर अघि बढौं। पाँचबुँदे सहमतिअनुसार सरकारको नेतृत्व नेपाली कांग्रेसलाई दिन हामी तयार छौं” –प्रचण्डको भनाइ उद्धृत गर्दै महतोले भने।
बैठकमा प्रचण्डले पाँचबुँदे सहमतिको मर्मअनुसार संविधानका विवादमा सहमति भएलगत्तै सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्न आफूहरु तयार रहेको प्रतिबद्धता जनाएकाथिए। प्रचण्डले राष्ट्रिय सहमतिको विकल्प नरहेको भन्दै सहमतिबाटै मुलुकलाई निकास दिनुपर्नेमा जोड दिएकाथिए। विपक्षीले भने तत्काल सत्ता छाडेर राष्ट्रिय सहमतिको वातावरण निर्माणमा लाग्न माओवादी र मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए। अन्यथा आफूहरु सरकारले ल्याउन लागेको पूर्ण बजेटको प्रतिवादमा उत्रने चेतावनी उनीहरुले दिएका थिए।
कामचलाउ सरकारले अध्यादेशमार्फत बजेट ल्याए दलहरुबीच दूरी घट्नुको सट्टा अविश्वास थप गहिरिने भन्दै विपक्षीले राष्ट्रिय सरकारले मात्र बजेट ल्याउनुपर्ने अडान दोहो¥याएका थिए। “प्रचण्डजीले प्याकेजमा सहमति गरौं भन्ने प्रस्ताव ल्याएका थिए”, कांग्रेस नेता डा. रामशरण महतले भने– “हामीले पहिला राष्ट्रिय सरकार बनाऔं अनि अन्य विषयमा प्रवेश गर्न सकिन्छ भन्यौं।” प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर सहमतिका लागि मार्ग प्रशस्त गर्नुपर्ने आफूहरुको प्रस्ट अडान रहेको महतको भनाइ थियो।
मोर्चा र माओवादीले भने संविधानका विवादमा सहमति भए “भोलि” नै सरकार त्याग्न तयार रहेको बताएका थिए। “संविधानका विवादमा सहमति भए हामी भोलि नै सरकार छाड्न तयार छौं, सरकार हाम्रा लागि ठूलो विषय होइन।”-देब, मेस, श्रोत(समाचारपत्र)