एमाले र माओवादीबीच डिभोर्सको संघारमा

एमाले र माओवादीबीच डिभोर्सको संघारमा


नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको हनिमुन पिरियड धेरै नचल्ने पक्का भएको छ । अर्कैले कसिदिएको लगनगाँठो छुट्टै टुङ्गिन लागेको उच्च स्रोतले दावी गरेको छ ।

विदेशीको चाहनामा बनेको यो चुनावी गठबन्धनलाई बाम गठबन्धनको नाम दिएर नेताहरुले पार्टी एकतासम्म पुग्ने भाषण गरे पनि त्यो फगत भोट तान्नका लागिमात्र भएको स्रोतको ठोकुवा छ ।

एमालेको एक उच्च स्रोत किटानका साथ भन्छ, ‘यो विवाह अनिच्छित थियो, हामीले चाहेर नचाहेर जोडिएका छौं, यसको अन्त्यको सुरुआत मंसिर २१ को साँझदेखि सुरु हुन्छ ।’ किन अनिच्छित विवाह भयो त ?

यस प्रश्नको जवाफमा उनले केही गम्भीर हुँदै भनेका छन्, ‘हामीहरु सिद्धिनका लागि राजनीति गरेका हैनौं । सधैभरि प्रतिपक्षमा बस्नका लागि राजनीतिमा होमिएका हैनौं, यति भनेपछि त बुझिहाल्नुभयो नि ।’

त्यसो त माओवादीको उच्च स्रोतको भनाइ उस्तै तर शैली फरक छ । उक्त स्रोत भन्छ, ‘हामी भोट बढाउन मात्र एमालेसंग जोडिएका हौं, स्थानीय तहको निर्वाचनमा सोचेको परिणाम आए त्यसैले अलि बढी सिट जित्ने अपेक्षाले एमालेसंग टाँसिएका हौं ।’

यी दुई उच्च स्रोतको भनाइलाई केलाउने हो भने एमालेले पाँच वर्षसम्म सरकारबाट बाहिर बस्नुपर्ने स्थिति आउने डरले माओवादीसंग टाँसिन कर लाग्यो । काँग्रेस र माओवादीबीचको सत्तासाझेदारी लम्बिने देखिएपछि एमाले आत्तियो र अन्त्यमा माओवादीसंग मिल्न कर लाग्यो ।

होइन भने एमाले र माओवादीका नेताहरु माओत्सेतुङ्ग, लेनिन र स्टालिनका फोटोहरुमात्र भित्तामा टाँस्ने हुन् । व्यवहारमा यिनीहरु कम्युनिष्ट हैनन् ।

अवसरवादी मानसिकता हावी भएकैले दुवै पार्टीको घोषणापत्र केवल अवसरवादीजस्तोमात्र छ । त्यही अवसरवादी सोचलाई अन्त्य गर्न पनि केही दुवै दलका नेताहरु लागेका छन् । तर तिनीहरु जहिल्यै छायाँमा पर्छन् ।

यस्तो लाग्छ मानौं कि सच्चा कम्युनिष्टलाई दुवै पार्टीमा ठाउँ छैन । तिनीहरु सधै दोस्रो दर्जाका नेता बन्न वाध्य हुन्छन् ।

विदेशीको जवरजस्तीले भएको मिलन अनि सरकारबाट टाढा रहन पुगिने सोचबीच तालमेल भएको बुझ्न द्विविधा नभए पनि मंसिर २२ गतेदेखि नै डिभोर्स होला र ? यसबारेमा एमालेका एक पदाधिकारीले भने, ‘हामी रहरले जोडिएका हैनौं, माओवादीले सशस्त्र द्वन्द्वमा हाम्रा साथीभाइलाई ध्वस्त पारे, त्यसपछि पनि काँग्रेससंग मिलेर हामीलाई धोकामा राखे, अब पनि फेरि किन टाँसिनु ?’

हुन पनि एमाले र माओवादीबीच कहिल्यै पनि मेल हुन सक्दैन । यो त सबै स्वार्थले निम्त्याएको खेल हो । अझ चीनको गेजुवा कम्पनीले पनि दुई स्वार्थीलाई नजिक बनाएको थियो । अहिलेको सरकारले नै गेजुवासंगको सम्झौता खारेज गरी बूढीगण्डकी जलविद्युत आयोजना आफैले बनाउने निर्णय गरेपछि डिभोर्सका लागि बहाना तयार भइसकेको छ ।
यो गठबन्धनलाई भारतले पटक्कै रुचाएको छैन ।

भारतले अहिलेको चुनावमा भएको साँठगाँठ पनि मन पराएको छैन । त्यसैले त ‘फुटाउ र राज गर’ भन्ने नीति अबलम्बन गरिरहेको छ । उच्च स्रोतका अनुसार काँग्रेस र माओवादीका उच्च स्तरका नेताहरुबीच बाम गठबन्धनपछि तीन पटक छलफल चलिसकेको छ ।

यो छलफलको निष्कर्ष हो ‘हनिमुन पिरियड सकियो अब छुट्टिऔं ।’

बामदेव गौतमको अभ्यासलाई छाड्ने हो भने एमालेका बाँकी नेताहरु माओवादीसंग गठबन्धन गर्नका लागि तयार थिएनन् । कतिपय पदाधिकारीलाई त यो मिलनबारे पत्तोसमेत थिएन । अचानक भयो ।

एक एमाले पदाधिकारी भन्छन्, ‘मलाई त अन्तिम समयसम्म पनि विश्वास थिएन, ओली कमरेड जिस्कनु भएको होला जस्तो लागेको थियो ।’

अर्थात् हचुवाका भरमा भएको गठबन्धन ‘अरुची भएको विवाह’ अर्थात् ‘अनवान्टेड म्यारिज’ नै हो । त्यसैले एक पटक विछोड हुनु त अवश्य छ । फेरि एमाले र माओवादीले सोचेजस्तो बाम गठबन्धनको चुनावमा बहुमत आउने ग्यारेन्टी के छ ? बहुमत आएन भने फेरि विष्फोट ।

अनि एमाले वा माओवादी काँग्रेससंग मिलेर नै अगाडि बढ्ने छ ।

तर उच्चस्रोतका अनुसार चुनावी परिणाम आउन्जेलसम्म कसरी अगाडि बढ्ने भन्ने खाका तय भइसक्नेछ । माओवादीका नेताहरुले भारतीय दबाब रहेकैले पनि सरकार अहिलेसम्म छाडेका छैनन् ।

झट्ट हेर्दा यो माओवादीको निर्लज्ज प्रदर्शन भए पनि काँग्रेससंगको साइनो कायम राख्नका लागि सरकार नछाडिएको माओवादीका एक नेता बताउँछन् ।

काँग्रेस र एमालेबीच देखिएको कित्ताले फेरि उनीहरु जुट्ने सम्भावना छैन । यदि कुनै पनि दलको बहुमत आएन भने काँग्रेस र माओवादी नै मिल्छन् । भारतको पनि यही नै चाहना छ ।

यदि बाम गठबन्धनको बहुमत आयो भने फेरि एकपटक जनताले धोका खाँदैछन् भन्ने निश्चित हुनेछ । किनकि बाम गठबन्धनको सरकार बन्यो भने अहिलेसम्म सरकारले गरेका निर्णय सबै फिर्ता लिने केपी ओलीले बताइसकेका छन् । (जनभावना साप्ताहिक)