कविता-ओ ! मेरी हिमाली रानी

कविता-ओ ! मेरी हिमाली रानी


– ईश्वर चाम्लिङ,
ओ ! हिमाली रानी
तिम्ले मलाई माया लायौ कि ?
मैले तिमीलाई माया लाएँ ?
झझल्को आइरहन्छ यो मनमा
तिम्रो झलकहरू नाचिरहन्छ आँखाको नानीमा
माया बसे जस्तो छ हामीमा
ओ ! हिमाली रानी
माया बसे जस्तो छ हामीमा ।

सायद तिम्ले माया लायौ होला मलाई
तिम्ले माया लायौ भा’
किन माया लायौ म सुयोगवीर जस्तै मान्छेलाई
अब रुने भयो तिम्रो मन पारीजात भएर

चालै नपाई माया बसेको वा मैले माया लाको’भा
सायद यो ठूलो भुल भयो
म त चाँडै फर्कँदैछु हिमाली रानी
फर्कनु पर्छ मैले त्यहि परदेशमा
अब रुने भयो यो मन पनि तिम्रो सम्झनामा
अब बग्ने भयो बलिन्द्र धारा आँशु तिम्रो तिर्सनामा

मेरी हिमाली रानी
तिम्ले इशारा गर्‍यौ कि ?
मैले प्रेमपत्र लेखें ?
माया बसिसके छ हामीमा
माया कसरि बस्यो
माया किन बस्यो
त्यो त मैले चाल पाइनँ तर माया पक्का बसेछ हामीमा
नत्र, किन चिसो बतासले मलाई पछ्याइ रहन्छ
र म अनुभूत गर्छु, हिमाली चुम्वनको
नत्र, किन म घरि न घरि उत्तर तिर तिमीलाई चिहाँउछु
र प्रेमिला मुस्कान साट्छु तिमीसँग
अझ भनौं,
भुतुक्क हुन्छु र मुस्कुराउँदै हेरिरहन्छु, मस्किरहन्छु
म हरेक चोटी मुस्कुराउँदा
तिमी पनि त मुस्कुराएकी हुन्छ्यौ
म हरेक चोटी मस्किन्दा
तिमी पनि त झन धेरै मस्किराखेकी हुन्छ्यौ

म त तिम्रो मायामा पागल भएको छु
विहानी किरणको बुइ चढिआएर चुमिदिऊँ तिमीलाई
कि भुँइकुहिरोसँग काँत लाग्दै आएर गम्लङ्ग अङ्गालो हालिदिऊँ तिमीलाई
ओ ! हिमाली रानी
तिम्ले मलाई माया लायौ कि ?
मैले तिमीलाई माया लाएँ ?
झझल्को आइरहन्छ मनमा
तिम्रोे झलकहरू नाचिरहन्छ यी आँखाका नानीहरूमा
अब रोएरै बित्ने भए ति पर्देशी दिनहरू
अब झन दुःखी हुने भयो यो पर्देशी मन
ओ ! मेरी हिमाली रानी ।

२८ मार्च २०१०