कुन खेमर विश्व च्याम्पियनसिपमा अनिशालाई उपाधि

कुन खेमर विश्व च्याम्पियनसिपमा अनिशालाई उपाधि


कम्बोडियाको राजधानी नोमपेनमा आयोजना भएको प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमा नेपाली खेलाडी अनिशा खड्काले प्रोफेसनल फाइटको उपाधि जितेकी छिन् । महिला ६७ केजी तौल समूहमा आयोजक कम्बोडियाकी पुथ थावेलाई पराजित गर्दै अनिशाले प्रोफेसनल फाइटको उपाधि जितेकी हुन् ।

कुन खेमरको प्रोफेसनल विधामा प्रतिस्पर्धा गरेकी अनिशाले पाँच राउन्डको खेलमा थावेलाई अङ्कका आधारमा पराजित गरेकी हुन् । खेलको सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत अनिशाले पाँच राउन्डसम्म त्यही आक्रामकतालाई जारी राख्दै उपाधि जितेकी हुन् । अनिशाले गत मार्चमा थाइल्यान्डमा भएको १४औँ विश्व मुवाँथाई च्याम्पियनसिपअन्तर्गत एमेच्योरमा स्वर्ण जितेकी थिइन् ।

?
मुवाँथाईको प्रोफेसनल विधामा नेपालले पहिलोपटक स्वर्ण जितेको नेपाली टोलीका प्रशिक्षक एवम् नेपाल राष्ट्रिय मुवाँथाई सङ्घका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी गराएका छन् । च्याम्पियनसिपअन्तर्गत एमेच्योरतर्फ नेपालका राहुल थोकर लामाले पुरुष ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । उनले आयोजक कम्बोडियाका सामनाङ पिसेथलाई नकआउट गर्दै स्वर्ण पदक जितेका थिए ।

कुन खेमरको एमेच्योर विधामा प्रतिस्पर्धा गरेका राहुलले तीन राउन्डको खेलमध्ये दोस्रो राउन्डमै पिसेथलाई नकआउट गरेका थिए । पहिलो राउन्डमा पिसेथ हावी भए पनि दोस्रो राउन्डमा संयमित भएर खेलेका राहुलले लगातार पञ्च प्रहार गर्दै नकआउट गरेका थिए । विदेशी भूमिमा पहिलोपटक प्रतिस्पर्धा गरेका राहुलले गत जुनमा नेपालमै भएको इन्डो–नेपाल मुवाँथाई च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए ।

प्रतियोगितामा एमेच्योरतर्फको पुरुष ६५ केजी तौल समूहमा नै प्रतिस्पर्धा गरेका सशिन्द्र रञ्जित र ७१ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सलोन सारा लेप्चा जैसी भने पराजय भएका थिए । उनीहरू दुवै आयोजक कम्बोडियाका खेलाडीसँग अङ्कका आधारमा पराजित भएका हुन् । कम्बोडियामा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा नेपालसहित १० राष्ट्रको सहभागिता रहेको थियो ।