ओलीको दाबी : अब मुलुकको खेलकुदले ठूलो फड्को मार्छ

ओलीको दाबी : अब मुलुकको खेलकुदले ठूलो फड्को मार्छ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खेलाडी र खेलकर्मीले बालकोटस्थित निवासमा भेट गरी बधाइ दिएका छन् । भेटको अवसरमा खेलाडीहरुले खेलकुदको विषम परिस्थिति र राजनीतिक हस्तक्षेपले खेलकुदलाई पारेको असरको वारेमा ओलीलाई जानकारी गराएका थिए ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका पूर्व अध्यक्ष दिपक विष्ट, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानद्वय हरि खड्का र राकेश श्रेष्ठ, नेकपा एमाले खेलकुद विभागका सदस्य मेघराज पौडेल, नेपाल अटोमोबाइल खेलकुद महासंघका महासचिव गोविन्द भट्टराई, खेलाडी संघका महासचिव शिवसुन्दर गोथे, नेपाल रिङ रेस्लिङ संघका अध्यक्ष सुनिता थापा र महासचिव सुवर्ण श्रेष्ठलगायतले भेट गरी ओलीलाई बधाइ दिदै आगामी कार्यकालका लागि शुभकामना दिए ।

भेटमा अध्यक्ष ओलीले नेकपा एमालेले सरकार बाहिर हुँदा पनि खेलकुदको विकासमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी र नेपाल खेलकुद महासंघमार्फत काम गर्दै आइरहेको बताउँदै खेल क्षेत्रको विकासप्रति रुची र चासो रहेको धारणा व्यक्त गरेका थिए ।

सो अवसरमा ओलीले खेलकुद विकास सवै राजनीतिक दलको साझा एजेण्डा भएको र सवैले आफ्नो घोषणापत्रमा खेलकुदलाई विशेष प्राथमिकता राखेको जानकारी गराउँदै अव मुलुकको खेलकुदले ठूलो मार्ने बताएका थिए । साथै अध्यक्ष ओलीले खेलकुदको समग्र विकासको लागि आफुलाई सहयोग र सल्लाहको आवश्यकता भएको बताएका थिए ।

भेटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष तथा किर्तिमानधारी तेक्वान्दो खेलाडी दीपक विष्टले खेलकुदको विकासको लागि खेलकुद बुझेको र जानेको व्यक्तिको आवश्यकता भएको ओलीलाई जानकारी गराएका थिए । खेलकुद चलाउन खेलाडीहरु नै समक्ष भएको बताउँदै अवसर पाए आफुले पनि खेलकुद हाँक्न सक्ने दावी गरेका थिए ।