कोरियन एम्बास्डर तेक्वान्दोमा राष्ट्रिय खेलाडीको दबदबा

कोरियन एम्बास्डर तेक्वान्दोमा राष्ट्रिय खेलाडीको दबदबा


नेपाल आर्मीकी प्रतिज्ञा भण्डारी र ज्ञानी चुनाराले ८ औं कोरियन एम्बास्डर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दूतावासको संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको महिला ७३ केजीमा प्रतिज्ञा र ज्ञानीले ६२ केजी तौलसमूहमा स्वर्ण जितेका हुन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा भएको ७३ केजीको फाइनलमा प्रतिज्ञाले आर्मीकै मौसम कार्कीलाई पराजित गरेकि हुन् । सोही तौलमा एपिएफकी अप्सरा कार्की र सल्लाघारीकी करुणा श्रेष्ठले कांस्य जिते । ६२ केजीको फाइनलमा राष्ट्रिय टिमकी ज्ञानीले ललितपुरकी सिवानी श्रेष्ठलाई स्तब्ध पारेकी थिइन् । सो तौलमा आर्मीकी मन्दिरा कार्की र धादिङकी अनिता घलेले कांस्य जितेका थिए ।

त्यस्तै महिला ४६ केजी तौलमा राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी पुलिसकी रेजिना कार्कीले एपिएफकी वर्षा थापा, ४९ केजीमा आर्मीकी काजल श्रेष्ठले एपिएफकी अस्मीता खड्का, ५३ केजीमा पुलिसकी निमा गुरुङले ललितपुरकी दीक्षा कार्की, ५७ केजीमा पुलिसकी सीता तामाङले आर्मीकी नम्रता तुलाधर र ६७ केजी तौलमा एपिएफकी संगीता बस्यालले एपिएफकै अनुमाया तामाङलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएका थिए ।

सिनियर पुरुषको ५४ केजी तौलको सेमिफाइनलमा पुलिसका मनोज मल्लले आर्मीका विकास राईलाई तथा एपिएफका चन्द्र रानामगरले मकवानपुरका विवेक माझिलाई हराउँदै स्वर्ण पदक जितेका थिए ।

त्यस्तै जुनियर पुरुषतर्फ ४२ केजीमा सीतापाइलका विधान श्रेष्ठ र कोटेश्वरका श्रीकृष्ण कार्की, ४५ केजीमा युनाइटेडका पुजन खड्का र कोटेश्वरका दिनेशबहादुर साउद तथा ४८ केजीमा ललितपुरका साहील थापामगर र शिव श्रेष्ठले अन्तिम चारको यात्रा तय गरेका छन् । ५९ केजीमा ब्रेनल्यान्डका सुरज सिन्तान र दीलिप स्मृतिका कपिल थापाले फाइनलमा प्रतिस्पधा गर्नेछन् ।