नर्सेस एथलेटिक्स मीटमा सुक्दिकीलाई दोहोरो स्वर्ण

नर्सेस एथलेटिक्स मीटमा सुक्दिकीलाई दोहोरो स्वर्ण


वीर अस्पतालकी सुक्दिकी शेर्पाले प्रथम नर्सेस एथलेटिक्स मिटमा दोहोरो स्वर्ण जितेकी छिन् । सुक्दिकीले १ सय र ४ सय मिटर दौडमा स्वर्ण जितेकी हुन् । सुक्दिकीले २.५ किलोमिटर दौडमा पनि थप १ कांस्य जित्दै व्यक्तिगत पदक संख्या तीन पु¥याएकी थिइन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको १ सय मिटर दौड सुक्दिकीले १७.९८ सेकेन्डमा पूरा गरेकि थिइन् । पाटन अस्पतालकि कोकिला राउत दोश्रो तथा सविना महर्जन तेश्रो भएका थिए । ४ सय मिटर दौड सकाउन सुक्दिकीले १ मिनेट २८.७२ सेकेन्ड समय खर्चेकि थिइन । एमसीभीटीसीकी दीपिका राईले रजत तथा नेपाल क्यान्सर अस्पतालकी युमा राईले कांस्य प्राप्त गरेकी थिइन् ।

डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको २ सय मिटर दौड ३७.५६ सेकेन्डमा पूरा गर्दै अल्का अस्पतालकि सरस्वती पहिलो स्थान हासिल गरेकि थिइन् । पाटनकी कोकिला दोश्रो तथा ओम अस्पतालकी सीता धामी तेश्रो भएका थिए । २.५ किलोमिटर दौडमा एमसीभीटीसीकी दीपिका राईले स्वर्ण, नेपाल प्रहरी अस्पतालकी खुशी हिराचनले रजत र वीरकी सुक्दिकीले कांस्य जिते ।

त्यस्तै ४ गुणा १ सय मिटर रिलेमा अल्का, नेपाल क्यान्सर र ब्लु क्रस अस्पतालले क्रमशः शीर्ष तीन स्थानभित्र दौड पुरा गरेका थिए । रिले बाहेक सबै स्पर्धामा शीर्ष तीन स्थानमा आउनेले क्रमशः ५ हजार, ३ हजार र २ हजारका दरले नगद पुरस्कार प्राप्त गरेका थिए । रिलेको विजेताले १० हजार, उपविजेताले ७ हजार र तेश्रो हुनेले ३ हजार नगद पुरस्कार हात पारे ।

ब्लु क्रसको आन्तरिक १ सय मिटर दौडमा राजन थापा पहिलो भए । उनले निर्धारित दूरी १६.४८ सेकेन्डमा पार गरेका थिए । पोखरीप्रसाद ढकाल दोश्रो र सन्दिप रन्जितकार तेश्रो भए । विजेतालाई आयोजक फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए । एकदिने मिटमा विभिन्न ९ अस्पतालका २ सय १९ नर्सले सहभागिता जनाएको फाउन्डेसनका महासचिव रजत श्रेष्ठले जनाएका छन् ।