अब्वासले अमेरिकामाथि लगाए ‘बेइमान मध्यस्थ’को आरोप

अब्वासले अमेरिकामाथि लगाए ‘बेइमान मध्यस्थ’को आरोप


जेरूसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भन्दै अमेरिकाले एकतर्फी निर्णय लिएको आरोपका साथ प्यालेस्टिनी राष्ट्रपति महमुद अब्वासले प्यालेस्टिनी जनताले अमेरिकाद्वारा प्रस्ताव हुने कुनै पनि शान्ति योजनालाई आगामी दिनमा स्वीकार गर्न नसक्ने बताएका छन् । ट्रम्प प्रशासनले सन् २०१८ मा दुवै पक्षलाई मान्य हुने गरी योजना बनाइरहेको भन्ने भनाइहरू बाहिर आइरहेका समय प्यालेस्टिनी नेता अब्वासको यस्तो अभिव्यक्ति आएको हो ।

पेरिसमा फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्याक्रोँसँगको भेटपछि अब्वासले भने– ‘संयुक्त राज्य अमेरिका इजरायल–प्यालेस्टाइन शान्ति प्रक्रियामा एक ‘बेइमान मध्यस्थ’ देखिएको र अमेरिकाद्वारा ल्याइने कुनै योजना हामीहरूलाई स्वीकार हुनेछैन ।’

अब्वासले राष्ट्र सङ्घको गत विहीबार भएको महासभामा जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने अमेरिकी निर्णयविरुद्ध १२८ मुलुकले आलोचना गरेको भन्दै अमेरिकी पक्षमा मतदान गर्ने मुलुकको पनि आलोचना गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरूविरुद्ध आर्थिक सहायता रोक्का गर्ने चेतावनीकाबीच राष्ट्रसंघको महसभाका सदस्यहरूले बिहीबार जेरुसलेमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने ट्रम्पको निर्णयको विपक्षमा मतदान गरेका थिए । अरब र मुस्लिम देशहरूको माग बमोजिम १ सय ९३ सदस्यीय महासभाको आपतकालीन सत्र बोलाइएकोे थियो ।

यदि संयुक्त राज्य अमेरिकाको विपक्षमा विभिन्न देशहरूले मतदान गरे भने त्यसलाई अमेरिकाले बेवास्ता गर्ने उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनको विपक्षमा उभिने देशहरूलाई सहायता रोक्ने र यसबाट वाशिङटनको ठूलो परिमाणको रकम जोगिने बताएका थिए ।