ठाउँको नाम राख्ने विवादमा भएको झडपमा दक्षिण सुडानमा बीसको मृत्यु

ठाउँको नाम राख्ने विवादमा भएको झडपमा दक्षिण सुडानमा बीसको मृत्यु


जातीय द्वन्द्वले थलिएको दक्षिण सुडानको जोङले राज्यमा एक आपसमा विरोधी दुई समुदायका बीचमा भएको झडपमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परी अन्य १८ जना घाइते भएको स्थानीय सरकारका अधिकारीहरूले जानकारी दिएका छन् ।

जोङले राज्यका सूचना मन्त्री जाकोब अकेच डेङलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार एउटा ठाँउको नाम परिवर्तन गर्ने विषयलाई लिएर भएको झडपमा उनीहरूको मृत्यु भएको हो ।

पानविल भन्ने ठाँउको नाम एउटा समुदायले त्यही राख्नुपर्ने अडान राखेको छ भने अर्को समूहले त्यसको नाम परिवर्तन गरेर एन्युट राख्नुपर्ने माग गरेको छ । जोङले राज्यमा लामो समयदेखि जातीय दङ्गा हुँदै आइरहेकाले धेरै हिंसात्मक घटनाहरू भएका छन् । गत महिना भएको जातीय हिंसामा परी ५० जनाको मृत्यु भएको थियो ।

यसैबीच युद्धले आक्रान्त भएको यमनको तेस्रो शहर ताइज नजिकै भएको साउदी अरेबियाआवद्ध हवाई आक्रमणमा कम्तीमा १४ सर्वसाधारणको मृत्यु भएको छ । ताइज शहरको उत्तर पूर्वी स्थानमा रहेको अल हैमा गाउँमा हुथी विद्रोहीलक्षित यो हवाई कारबाही गरिएको तर गलत स्थानमा पर्न गएको जनाइएको छ । सरकारी र अस्पताल स्रोतले बुधबार सो हवाई कारबाहीको जानकारी दिएको छ ।

गत मङ्गलबार भएको हवाई कारबाहीमा पनि ११ विद्रोहीको मृत्यु हुनुका साथै अन्य १६ जना सर्वसाधारण घाइते भएको साउदी अरेबियाको समर्थन रहेको सरकार समर्थित एक स्थानीय अधिकारीले जानकारी दिएको छ ।

ताइजमा साउदी अरबियाको समर्थन रहेको सरकारको सुरक्षा बलले बारम्बार हवाई कारबाही गर्दै आएको छ । गृहयुद्धका कारण तहसनहस भएको यमनको पश्चिमी भागमा साउदी अरेबियाआवद्ध हवाई आक्रमणमा २२ हुथी विद्रोही मारिएको बताइएको छ । सो हवाई कारबाही हुथीको बलियो प्रभाव रहेको रक्त सागर तटीय क्षेत्र होदइदामा भएको जनाइएको छ ।

सन् २०१५ को मार्च महिनाबाट तत्कालीन सरकारको समर्थन गर्दै साउदी अरेबियाले यमनमा हवाई कारबाही शुरु गरेको थियो । उक्त कारबाही हालसम्म पनि जारी रहेको छ । गत सोमबार होदेइदाको दक्षिण भागमा भएको हवाई कारबाहीमा परी ५३ विद्रोही र १२ सरकारी सैनिकको मृत्यु भएको थियो । सन् २०१५ को मार्च महिनाबाट साउदी अरेबियाआवद्ध संयुक्त सेनाले गरेको कारबाहीमा परी ८ हजार ७५० व्यक्तिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित तथ्याङ्कमा बताइएको छ ।


सांकेतिक तस्बिर गुगल