राजावादी राप्रपा गठन हुने

राजावादी राप्रपा गठन हुने


काठमान्डौ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई फुटाउने तयारी भएको छ । नयाँ पार्टीको नाम राप्रपा नेपाल (राजावादी) राख्ने प्रस्ताव गरिएको छ । अध्यक्ष कमल थापा तीन साताका लागि युरोप भ्रमणमा रहेका वेला उनीसँग असन्तुष्ट नेताहरूले पार्टी फुटाउने तयारी गरेका हुन् । थापा एक साताअघि युरोप गएका हुन् । पार्टी फुटाउने समूहको नेतृत्व उपाध्यक्ष किशोरी महतोले गरेका छन् ।

अध्यक्ष थापालाई पार्टीमा हैकमवाद लादेको, पार्टीले गर्ने हरेक निर्णयमा स्वविवेक प्रयोग गर्ने गरेको, आर्थिक स्रोतलाई पारदर्शी नबनाएकोलगायत आरोप लगाइएको छ । ‘पार्टी अध्यक्ष थापाको हैकमवाद सहन सक्दैनौं । यस्तै भइरहे उहाँसँगै बसेर काम गर्न सकिदैन,’ उपाध्यक्ष महतोले भन्नुभयो, ‘त्यसैले नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता हुनेछ ।’

सहअध्यक्ष पद्मसुन्दर लावती पनि अध्यक्ष थापासँग असन्तुष्ट रहेको स्रोतको दावी छ । राप्रपा नेपालको ४४ सदस्यीय केन्द्रीय समितिमध्ये ७५ प्रतिशत बढी केन्द्रीय सदस्य नयाँ पार्टीमा आउने असन्तुष्ट पक्षको दावी छ ।

शाही शासनकालमा थापा गृहमन्त्री थिए । त्यसबेला राप्रपा अध्यक्ष पशुपतिशमशेर राणासँग विवाद भएपछि २०६२ मा कमल थापाले राप्रपा नेपाल गठन गरेका थिए । -मेस, काठमान्डौ ।