सन् ३८ सम्म पेन्शनको उमेर ६८ वर्ष हुने

सन् ३८ सम्म पेन्शनको उमेर ६८ वर्ष हुने


लण्डन । युग परिवर्तन हुने क्रममा मानिसको साधरण आयु झनै लम्बिँदै धेरै लामो उमेरसम्म बाँच्ने तथ्यांक प्राप्त भएको छ । यो मान्छे भित्रको स्वास्थ्य चेतना र चिकित्सा क्षेत्रमा मानिसले विकास गरेको चिकित्सा पद्धत्तिका साथै विभिन्न नयाँ-नयाँ दवाइहरुको आविष्कारले गर्दा सम्भव हुन गएको हो । हालै सर्वेक्षण गरेको बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले दिएको प्रतिवेदनमा यस साल जन्मेको एक चौथाइ शिशुहरुको आयु सय वर्षसम्म बाँच्ने दावी गरेका छन् । विगतका चार दशकभित्र मानिसको बाँच्ने उमेर बृद्धि हुँदै गइरहेको छ । बाच्ने उमेर लम्बिएको कारणले यस विषयलाई बेलायतको मन्त्रीमण्डलमा एक महिनाभन्दा बढी अध्यायन तथा विभिन्न चरणको छलफलले प्राप्त गरेको निष्कर्षमा हाल औसत चारजना वयस्क कामदार मध्येमा एकजना पेन्शन प्राप्त मान्छे रहेका छन् । यसै हिसाबमा बढी उमेर बाँच्नेको संख्या बढ्दै जाँदा आउँदो दशकभित्र तीनजना कामदार बराबर एकजना पेन्शनवाला पुग्नेछ । सन् २०४०सम्म दुर्इजना कामदार बराबर एकजना पेन्शनवाला रहने तथ्यांक निकालिएको छ । यसरी देशमा पेन्शन खाएर बस्ने मानिसको संख्या बढी हुँदै जादा देशको आर्थिक क्षेत्रलाई प्रभाव पार्दछ । यसै विषयलाई मध्येनजर गरेर अब आउने ५ वर्षभित्र पेन्शनको उमेर बढाएर ६६वर्ष निर्धारण गर्ने संभावना प्रबल भएर आएको छ ।

विगत तीन दशक देखि बढी बाँच्ने उमेरका मानिसहरु हृवात्तै बृद्धि भएर आएको तथ्यांक छ । हाल महिला पुरुष मिलाएर झण्डै सत्तरीलाख नागरिकहरुले पेन्शन प्राप्त गर्दै आएका छन् । एक वर्षको मात्र पेन्शनको अभिबृद्धि गर्नाले देशको वार्षिक ग्राहस्थ उत्पादनमा एक प्रतिशत बढ्ने अर्थ मन्त्रालायले जनाएको छ । यसबाट कामदारलाई १० प्रतिशत बचत र बढी पेन्शन प्राप्त भएर फायदा हुनेछ । लेबर पार्टीको सरकारले सन् २०२० सालसम्म पुरुषको पेन्शनको उमेर ६६ वर्ष र सन् २०२६ सालसम्म महिला-पुरुष दुबैको ६६ वर्ष निर्धारण गर्ने योजना रहेको थियो । त्यसै अनुसार २०४६ सालसम्म महिलापुरुषको पेन्शनको उमेर ६८ वर्षसम्म बढाउने रहेको थियो । अहिलेको प्रतिवेदनअनुसार सन् २०३० सालसम्म अहिलेको पेन्शनवालाहरुको संख्यामाथि ५६ लाख पैसट्ठी हजार थप पेन्शनवालाहरुको संख्या थपिने बताएको छ ।

देशको अर्थतंन्त्रको सुधारका लागि इयान डंकन स्मिथ, पेन्शन सचिवका अनुसार पूर्व नियोजित योजनालाई संशोधन गरेर अब २०१६ साल देखि ६६ वर्षको उमेर पुरुषहरुलाई लागू गरिने तथा महिलाहरुका लागि सन् २०२० साल राखिएको थियो, तर, अब एक वर्षआगडि नै लागू गरेर क्रमशः सन् २०१५ र २०१९ गरिने बताएका छन् । यसै हिसाबलाई निरन्तरता दिएर सन् २०३८ सालसम्म सबैको पेन्शनको उमेर ६८ वर्ष लागू हुने कुरा प्रकाश पारेका छन् । श्रोत – नेट, सुमल, मेस ।